९ केजी लागूऔषध गाँजा बरामद
राजन कुमार बानियापर्सा ९ मंसिर
सशस्त्र प्रहरी बल नेपालले पर्साको ठोरी गाउँपालिका–४ माल बस्ती क्षेत्रबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा करिब ९ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका दुई वटा मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।जाँचका क्रममा मोटरसाइकलहरूमा सवार चालकहरू प्रहरी देख्ने बित्तिकै मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरीले पठाएको दाबी गरेको छ । शङ्कास्पद अवस्थामा छाडिएका मोटरसाइकलहरू प्र.०२–००१ प ५२०२ र भारतीय बीआर २२ एके २९४४ नम्बरको विस्तृत जाँच गर्दा एउटाको इन्धन ट्याङ्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा करिब ९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।प्रहरीले गाँजासहित दुवै मोटरसाइकल र एक थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरेको छ । बरामद सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वराज योन्जनले जानकारी दिए ।सीमा क्षेत्रबाट हुने लागूऔषध तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले कडा निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको जनाएको छ ।
