स्थानीय तहमा कोरोनाको नाममा व्यापक अनियमितता , सरकार बेखबर

सेयर गर्नुहोस
फाइल तस्विर

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण राेकथाम तथा संक्रमित व्यवस्थापनको नाममा स्थानीय तहहरुमा अनियमितता बढेको महालेखा परीक्षणको प्रारम्भिक अध्ययनले देखाएको छ ।

स्थानीय तहहरु अनियमितताको अखडा बनेको यसअघि कै महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको थियो । तर, यस पटक अनियमितता गर्ने माध्यम कोरोना देखिएको कार्यालयका फिल्डमै अडिटका लागि खटिएका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार बिलमा प्रशस्तै खर्च देखिएको छ तर खर्च गरिएको सामानहरु छैन । उनले भने, ‘के–के मा खर्च भयो भनेर सोध्दा खाना, क्वारेन्टिन, बिछ्याउना, भाडामा खर्च भएको बताउँछन् । संक्रमितले प्रयोग गरेको भएर ती सामान नष्ट गरिएको भनिन्छ । संक्रमितले प्रयोग गरेको भनेपछि खोतल्ने कुरा पनि भएन । यसमा व्यापक अनियमितता भएको देखिन्छ ।’
गत वर्षको चैत–वैशाखमा स्थानीय तहले वडाबाट चामल, तेल बाँडेर त्यसमा अस्वाभाविक खर्च देखाएको ती अधिकारीले बताए । उनले थपे, ‘विपत्ति कोषमा पैसा हुन्जेल चामल तेलको विल बनाएर अन्यत्र खर्च गरे, अहिले कोषमा पैसा नभएपछि उनीहरु चुप लागेर बसेका छन् । आफ्नो आन्तरिक स्रोतबाट दिने कुनै पहल छैन ।’
यो मात्र होइन वर्षायाममा बाढी रोकथामका लागि काम गरेको भन्दै बिलमा खर्च देखाउने तर भौतिक प्रगति हेर्न जाँदा बनाउँदा बनाउँदै बाढीले बगायो भन्नेसम्मको जवाफ आफूहरुले पाउने गरेको ती अधिकारको भनाइ छ । धेरैजसो अनियमितता यस्तै विपतमा हुने गरेको छ ।
महालेखा परीक्षक कार्यालयका निर्देशक नेत्र पौडेलले पनि अनियमिमता आफूहरुले वर्षेनि औँल्याए पनि त्यसको सुधारमा स्थानीय तहले ध्यान नदिएको आरोप लगाए । ‘खाजा खर्च, सवारी खरिद, भ्रमण, तालिमका नाममा पनि व्यापक अनियमितता छ । हामी औंल्याउँछौँ, उनीहरु सुनिरहन्छन्, तर सुधार गर्दैनन्,’ पौडेलले भने ।
महालेखाको ५७ औ प्रतिवेदनले अनुदानको रकम समेत स्थानीय तहले अनियमितता गरेको औँल्याएको थियो । सो प्रतिवेदनले ७५३ स्थानीय तहमध्ये ७४३ स्थानीय तहमा ७ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको देखाएको थियो ।

स्थानीय तहमा धेरै संख्यामा स—साना टुक्रे आयोजना पारित हुने, पारित योजनामा काम नगरी विनियोजित बजेट अन्यत्र रकमान्तर हुने, अनुत्पादक र वितरणमुखी कार्यमा बढी खर्च हुने, खरिद प्रक्रिया कानुन विपरित हुने दीगो योजना नबनाउने लगायतका समस्या यस वर्षपनि देखिएको छ ।

Facebook Comments Box