अमेरिका मधेसी समाजको पाँचौँ साधारण अधिवेशन टेक्सासको क्यारोलटनमा सम्पन्न
काठमांडौ, असोज ,२८
अमेरिका मधेसी समाजको पाँचौँ साधारण अधिवेशन गत साता टेक्सास राज्यको क्यारोलटन शहरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा अमेरिका भरिका प्रतिनिधिहरू र मधेसी समुदायका सदस्यहरू गरी २०० भन्दा बढीको उल्लेखनीय उपस्थिति रहेको थियो।अधिवेशनका प्रमुख अतिथि नेपालकी पूर्व सांसद सरला यादव रहनु भएको थियो भने विशेष अतिथि रूपमा क्यारोलटन शहरका मेयर स्टीभ बेबिक उपस्थित हुनुहुन्थ्यो। दुबै विशिष्ट व्यक्तित्वहरूले अमेरिकास्थित नेपाली तथा मधेसी समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचानको संरक्षण, र सहकार्यको आवश्यकता एवं महत्वमाथि प्रकाश पार्नुभयो।कार्यक्रमको महत्वपूर्ण अंगका रूपमा विभिन्न निर्वाचनहरू सम्पन्न भएका थिए। रामबाबु गुप्ता दोस्रो कार्यकालका लागि टेक्सास च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै,नित्य साह केन्द्रीय समितिको अध्यक्ष पदमा विजयी हुनुभएको छ। साथै,विजय कुमार यादवको अध्यक्षतामा नयाँ बोर्ड अफ डाइरेक्टर्स गठन गरिएको छ।नव–निर्वाचित पदाधिकारीहरूले संस्थाको दीर्घकालीन लक्ष्य, समुदायप्रति समर्पण, तथा मधेसी एकताको सुदृढीकरणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।अधिवेशनका क्रममा सामुदायिक विकास,सांस्कृतिक संरक्षण तथा अमेरिका भर फैलिएका मधेसी समुदायबीच सम्बन्ध सुदृढ गर्ने उपायहरूमा गहन छलफल गरिएको थियो। साथै, विविध सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक सत्रहरूले कार्यक्रममा थप उत्साह थपेका थिए।यस सफल अधिवेशनले अमेरिकास्थित मधेसी समुदायको एकता,पहिचान र पारस्परिक सहयोगको भावनालाई थप मजबुत बनाएको छ भन्ने स्पष्ट संकेत दिएको छ।
