दोहास्थित नेपाली राजदूतावास द्एवारा महत्वपूर्ण सूचना जारी

सेयर गर्नुहोस

(कतार) असोज २३

कतारमा रहेका नेपालीहरूलाई कतारको नियम, कानून र सांस्कृतिक मूल्य–मान्यता पूर्णरूपमा पालना गर्न अनुरोध गर्दै दोहास्थित नेपाली राजदूतावासले एक महत्वपूर्ण सूचना जारी गरेको छ।राजदूतावासले जारी गरेको सूचनामा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन, झैझगडा, लागू पदार्थको ओसारपसार, उत्पादन र बिक्री, अश्लील भिडियो कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली–गलौज र चरित्रहत्या जस्ता कार्यहरू नगर्न सबै नेपालीलाई सचेत गराइएको छ।त्यसैगरी, पूर्वी युरोप पठाइदिने भन्दै ठगी गर्ने, अध्यागमन तथा ट्राफिक नियम उल्लंघन गर्ने कार्यहरूमा संलग्न नहुन पनि राजदूतावासले आग्रह गरेको छ।सूचनामा भनिएको छ — “कतारको कानूनले निषेध गरेका कुनै पनि कार्य नगर्नुहोस्, सार्वजनिक स्थलमा मादक पदार्थ तथा धुम्रपान सेवन नगर्नुहोस्, अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्नुहोस्।”राजदूतावासले थप सचेत गराउँदै भनेको छ — कुनै पनि व्यक्तिले दिएको सामान बिना चेकजाँच नबुझ्न, नगद कारोबार वा लेनदेन नगर्न, नबुझिकन कागजातमा सही नगर्न, आफ्नो राहदानी, कतार परिचयपत्र, बैंक खाता नम्बर वा सिम कार्ड अरूलाई नदिन, र कतार आईडी बुझाई बैंक ऋण नलिनु।त्यस्तै, एक कम्पनीको आईडी लिएर अर्को कम्पनीमा काम नगर्न, भाङ्गको अचार वा मर्चा जस्ता वस्तु ल्याउन वा कारोबार नगर्न, सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने वा सामाजिक सद्भाव खल्बल्याउने सामग्री पोस्ट नगर्न पनि अनुरोध गरिएको छ।सार्वजनिक स्थलमा जुवातास नखेल्न, अपरिचित व्यक्तिहरूलाई समेटी टिकटक वा भिडियो नबनाउन, अमर्यादित र भड्किलो पोशाक नलगाउन, र कतार सरकारको अनुमति बिना कुनै पनि कार्यक्रम नगर्न समेत चेतावनी दिइएको छ।अन्त्यमा, दूतावासले कतारमा रहेका सबै नेपालीहरूबीच एकता, आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्न आह्वान गरेको छ।

Facebook Comments Box