नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग

सेयर गर्नुहोस

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । महासंघको डिजिटल मिडिया विभागले सोमबार बसेको बैठकमा करिब एक महिनादेखि सरकारद्वारा दर्ता र नवीकरण रोकिएको भन्दै तत्काल प्रक्रिया सुरु गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।विभाग संयोजक प्रकाश धौलाकोटीका अनुसार, भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाइने र भदौ १३ गतेदेखि सूचना तथा प्रसारण विभागमा कालो व्यानरसहित धर्ना सुरु गर्ने योजना रहेको छ ।सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधन गरेपछि साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकिएको हो । महासंघले यसलाई नागरिकको संवैधानिक अधिकार हनन् भएको ठहर गरेको छ ।अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण गर्न पाएका छैनन् । यसले चाडपर्वको समयमा विज्ञापनसम्बन्धी कारोबारमा समेत कठिनाइ सिर्जना गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले दर्ता र नवीकरण तत्काल सुरु गर्नुपर्ने आग्रह गरेकी छन् । उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले नयाँ कानुनमार्फत प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारमा नियन्त्रण गर्ने प्रयास गरेको बताए । महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता रोक्नु असंवैधानिक भएको उल्लेख गर्दै, सरकारले प्रक्रिया तुरुन्त सुचारु नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

Facebook Comments Box