तीज नृत्य कार्यक्रम सम्पन्न
अन्शु ढकाल, भाद्र ६
हरितालिका (तीज) पर्वको अवसरमा प्रतियोगितात्मक तीज नृत्य कार्यक्रमको श्री कन्या आधरभुत बिद्यालय शितगङ्गा नगरपालिका -१२ अर्घाखाँचीले आयोजना गरेको छ । सकारात्मक सन्देश दिने सांस्कृतिक पर्वहरुको संरक्षण र प्रवर्द्धन तथा यी यस्ता पर्वहरुको मूल्य र महत्व बताउने उद्देश्यले तीज नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक घन ब. थापा रास्कोटीले जानकारी गराउनु भयो । कक्षा १ देखि ५ सम्मका करिव ३७ जना विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रम तहगत रुपमा प्रतियाेगितात्मक हिसाबले सञ्चालन गरिएको थियो। विद्यालयको अतिरिक्त विभागको संयोजन शिक्षक प्रकाश खनालले गर्नु भएको थियो । नृत्य सहजीकरण शिक्षिका सिर्जना बि क गर्नु भएको थियो । शिक्षिका सिर्जना बि क ले साँस्कृतिक पर्वहरुको महत्त्व, महिमाको वारे प्रकाश पार्दै सबैलाई तिज को शुभकामना ब्यक्त गर्नु भएकाे थियो । आजको तीज नृत्य प्रतियोगिताको मुल्यांकनकर्ता (निर्णायक) मा शिक्षिका सिर्जना अधिकारी र शिक्षिका शिक्षिका अन्शु ढकाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक घन ब थापा रास्कोटीले साँस्कृतिक विविधता भएकाे हाम्राे देश नेपालका सांस्कृतिक पर्वहरूलाई संस्कृतिको रुपमा मनाउनु पर्ने, सांस्कृतिक पर्व मनाउने क्रममा तडकभडकसहितको विकृति सिर्जना हुने किसिमले मनाउन नहुने तथा संस्कृतिको माध्यमबाट आफ्नो मौलिकता, पहिचान र परम्परा वारे विद्यार्थीहरुलाइ ज्ञान दिनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा हरितालिका (तीज)को शुभकामना व्यक्त गर्दै तहगत रुपमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । जसअनुसार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुमा कक्षा २ मा अध्ययनरत श्रेया घर्ति मगर र कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरुमा कक्षा ५ अध्ययनरत सन्जु रेश्मि प्रथम हुन सफल भएका हुन ।
