छाडा पशुपन्छी नियन्त्रणका लागि विजयनगर गाउँपालिकाले पहल थाल्दै

सेयर गर्नुहोस

कपिलवस्तु , भाद्र ३

कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँ क्षेत्रमा अनियन्त्रित रूपमा छाडा पशुपन्छी तथा चौपाया छाड्ने प्रवृत्ति बढ्दै गएको भन्दै नियन्त्रणका लागि पहल थालेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सडक, बगैंचा, खेतबारी लगायत सार्वजनिक स्थलमा छाडा चौपाया छाड्दा दुर्घटना तथा वातावरण प्रदूषणको जोखिम बढेको बताउँदै यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको हो ।गाउँपालिकाले विशेषगरी गाई, गोरु, भैसी, बाख्रा, भेडा, सुंगुर, पाडा, पाडी, कुकुर आदि चौपाया तथा पशुपन्छीलाई अनियन्त्रित रूपमा छाड्दा जनस्वास्थ्यमा समेत असर पर्ने हुँदा छाडा पशु चौपाया नछाड्न निर्देशन दिएको छ । यस कार्यले स्थानीय सडक दुर्घटनामा वृद्धि, कृषि तथा सार्वजनिक सम्पत्तिमा क्षति र नगरको सौन्दर्यीकरणमा असर पर्ने भएकाले तत्काल रोक्न सूचना मार्फत सचेत गराइएको छ ।सूचनामा भनिएको छ, “अवज्ञा गरी छाडा चौपाया राख्ने, सार्वजनिक स्थलमा हिँडाउने वा छाड्ने व्यक्तिहरूमाथि कानुन बमोजिम कारबाही गरिनेछ।” साथै पशु चौपाया हराएमा सम्बन्धित मालिकले गाउँपालिका कार्यालय वा नजिकैको वडा कार्यालयमा निवेदन पेश गरी सहयोग लिन सक्ने जनाइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर मालीले छाडा पशुपन्छी नियन्त्रणमा स्थानीयवासीको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे ।

Facebook Comments Box