मलखाद वितरण नगर्ने सहकारीमाथि कपिलवस्तु नगरपालिकाले कारबाही गर्ने
कपिलवस्तु, भाद्र ३ गते ।
कपिलवस्तु नगरपालिकाले सहकारी संस्थाहरू मार्फत हुने मलखाद वितरणको व्यवस्थापनबारे नियमन गरेको छ । नगरपालिकाले कृषकलाई वितरण हुने मलखाद समयमै सहकारीले वितरण नगरे कारबाही हुने चेतावनी समेत दिएको हो । नगरपालिकाबाट जारी सूचनामा कपिलवस्तु अन्तरगत कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय तौलिहवा तथा साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड उपशाखा कार्यालय कृष्णनगर कपिलवस्तुवाट प्राप्त हुने मल सहकारी संस्थामार्फत वितरण गर्ने व्यवस्था गरिएको उल्लेख छ ।
सहकारी संस्थाहरूले तोकिएको कोटाको आधारमा मलखादको उठाइ बिक्री वितरण गर्नुपर्नेमा हालसम्म केही सहकारीहरूले तोकिएको मलखाद नउठाएको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्ता सहकारीलाई तीन दिनभित्र मलखाद वितरण गर्न नगरपालिकाले निर्देशन दिएको छ । निर्देशअनुसार तोकिएको समयमा मल वितरण नगरे कानूनी कारबाही हुने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
नगर उपप्रमुख सुनिता गुप्ताले हस्ताक्षर गरेको सूचनामा समयमै मल वितरण नगरे कृषकलाई समस्या हुने भएकाले सहकारीहरूले तत्काल मल वितरणमा सक्रियता देखाउन आग्रह गरिएको छ ।
