नेपाल लाइफद्वारा ‘किओच’लाई एक करोड सहयोग
काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
किओचको कार्यालयमा हालै आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भयो। समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे।
नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको अग्रसरतामा आरम्भ भएको परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
डा. कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताए। साथसाथै उनले नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुनेमा आशावादी रहेको बताए।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा छ। थाहा खबर
