दक्षिण एसियाका महिला किन चाँडै बूढी हुँदै छन् ?
एजेन्सी : समाजमा महिलाको महत्व आमा बन्ने उनको क्षमताले मात्र निर्धारण गर्न थालिएपछि बढ्दो उमेर उनका लागि बोझ बन्छ। बुढ्यौली सामाजिक दृष्टिकोणबाट चुनौती मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि हो।
दक्षिण एसियाली मुलुकका महिलाहरूको स्वास्थ्यमा उमेरको असर धेरै छिटो महसुस भइरहेको छ। विदेशमा बस्ने पाकिस्तानी महिला सुमरिन कालियाको विवाह १८ वर्षको उमेरमै भएको थियो र २५ वर्षको उमेरमा उनी चार बच्चाकी आमा बनिसकेकी थिइन्। ३७ वर्षको उमेरमा उनलाई अचानक रजोनिवृत्ति (मेनोपज) भयो। त्यसअघि उनले यसको कुनै संकेत पनि महसुस गरेकी थिइनन्।
‘धेरै रगत बग्न थालेपछि जचाउन जाँदा डाक्टरले म सायद पेरि-मेनोपजमा छु भनिदिए, उनले भनिन् ‘कसैले पनि मलाई यसको बारेमा राम्रोसँग बताएका थिएनन्।’ त्यतिबेला उनी गर्भनिरोधका लागि आईयूडी प्रयोग गरिरहेकी थिइन्। आईयूडी बाहिर निकालेपछि अचानक उनको महिनावारी पूर्ण रूपमा बन्द भयो।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर रजोनिवृत्तिको औसत उमेर ४५ देखि ५५ वर्षको बीचमा छ तर दक्षिण एसियाली महिलाहरू धेरैजसोमा सुमरिनको जस्तै अनुभव रहेको पाइएको छ।
संसारका अरु महिलाको तुलनामा उनीहरूले पहिले नै रजोनिवृत्तिको लक्षणहरू महसुस गर्न थालेको बताएका डीडब्ल्यूले जनाएको छ।
रजोनिवृत्ति
एक अमेरिकी अनुसन्धानअनुसार दक्षिण एसियाली मूलका अमेरिकी महिलाहरूले औसत ४८ देखि ४९ वर्षको उमेरमै रजोनिवृत्ति अनुभव गर्छन्। जब कि अमेरिकी महिलाहरूको औसत उमेर ५२ वर्ष छ।
अर्कोतर्फ दक्षिण एसियामा रजोनिवृत्तिको औसत उमेर अझ कम छ। विशेषगरी, भारत र पाकिस्तानमा, जहाँ महिलाहरू ४६ देखि ४७ वर्षको उमेरमा रजोनिवृत्तिमा प्रवेश गर्छन्। नेपालमा पनि पछिल्लो समय बालिकाहरूमा शारीरिक सक्रियता कम हुनु, बदलिँदो जीवनशैलीका कारण महिनावारी छिट्टै सुरु हुने गरेको स्त्रीरोग विशेषज्ञहरूको टिप्पणी छ। सामान्यतया रजोनिवृत्ति ४५ देखि ५० वर्षको उमेरमा सुरु हुनेमा कतिपय महिलामा ४० देखि ४५ वर्षमा सुरु हुन्छ।
महिलाले जन्मिनेबित्तिकै निश्चित अण्डा प्राप्त गरेका हुन्छन् र उमेर बढ्दै गएपछि महिनावारी चक्रपिच्छे अण्डा नष्ट हुँदै जान्छ र अण्डा सकिएपछि रजोनिवृत्ति हुन्छ। कुनै किशोरी १२ वर्षको उमेरभन्दा पहिले नै महिनावारी भएकी छिन् भने उनको ४० देखि ४४ वर्षको उमेर बीचमा महिनावारी सुक्ने सम्भावना हुन्छ मेनोपजअघि उनीहरूले पेरि-मेनोपज (प्रारम्भिक लक्षणहरू) पनि सामना गर्नुपर्छ, जुन रजोनिवृत्तिको एक महत्वपूर्ण हिस्सा हो।
पाकिस्तानमा प्रतिमहिला बच्चाहरूको औसत संख्या पनि घटेको छ। सन् २०२३ मा यो संख्या ३.६१ थियो, जुन २०२४ मा घटेर ३.१९ मा आइपुग्यो। यद्यपि, भारतमा यो गिरावट ढिलो भएको छ तर अझै पनि यो संख्या २.१४ बाट घटेर २.१२ मा झरेको छ।
प्रारम्भिक रजोनिवृत्ति र कम प्रजनन दरबीच प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने कुरा स्पष्ट छैन। तर धेरै सामाजिक, जैविक र वातावरणीय कारकले दक्षिण एसियाली महिलाहरूको प्रारम्भिक बुढ्यौली प्रक्रियालाई असर गरिरहेका स्पष्ट देखिन्छ।
पाकिस्तानमा हार्मोनल स्वास्थ्य विशेषज्ञ पलवाशा खानका अनुसार रजोनिवृत्तिको समय धेरै हदसम्म आनुवंशिक हुन्छ। “कुनै निश्चित नियम नभए पनि अनुसन्धानले महिलाहरूको सामान्यतया आफ्ना आमाहरू जस्तै उमेरमा महिनावारी सुरु र बन्द भएको देखिन्छ। कुनै किशोरीको चाँडै महिनावारी सुरु भएको छ भने उनको रजोनिवृत्ति पनि चाँडै आउन सक्छ’‚ उनले भनिन्।
कन्सल्टेन्ट फिजिसियन समेत रहेकी खानले दक्षिण एसियाली महिलाहरूमा तीव्र रुपमा घट्दो भिटामिन–डीको स्तरले बुढ्यौलीसँग सम्बन्धित धेरै रोगलाई अझ गम्भीर बनाउन सक्ने पनि बताइन्।
यसका अलावा धेरै महिलाहरूले ३० दशकको अन्त्य वा ४० दशकको सुरुतिरै ओभरी फेलियर अर्थात् अण्डाशयको कार्य प्रणालीमा गिरावटको सामना गर्नुपरेको छ जुन प्रायः सुरुमा पत्ता लाग्दैन। जसले गर्दा भविष्यमा धेरै समस्या सामना गर्नुपर्ने उनले बताइन्।
स्वास्थ्य भन्दा बढी महत्वपूर्ण प्रजनन
दक्षिण एसियामा विशेषगरी पाकिस्तान लगायतका देशमा, महिलाहरूलाई धेरै चाँडो आमा बन्न दबाब दिइन्छ। जसले उनीहरूको स्वास्थ्यमा प्रायः असर गर्छ।
‘महिलाको स्वास्थ्य एक महत्वपूर्ण मुद्दा हो तर यसलाई धेरै हद सम्म बेवास्ता गरिन्छ’, पलवाशा खानले भनिन्, ‘हार्मोन–सम्बन्धित रोगहरूको बारेमा जागरुकता अझ कम छ र हार्मोन रिप्लेसमेन्ट थेरापी जस्ता उपचारहरू अस्तित्वमै छैनन्।’
उनका अनुसार आमा बन्ने भूमिकालाई धेरै महत्व दिइने समाजमा रजोनिवृत्ति र महिलाहरूको शारीरिक तथा मानसिक परिवर्तनलाई न त राम्ररी बुझिन्छ न त राम्रोसँग हेरचाह गरिन्छ।
रजोनिवृत्तिको वास्तविक मूल्य
कराचीमा बस्ने ४५ वर्षीया सबिना काजीले रजोनिवृत्ति आफ्नो लागि शारीरिक परिवर्तन मात्र नभई तर गहिरो मानसिक र भावनात्मक चुनौती रहेको बताइन्।
‘मेरा श्रीमान् र छोराछोरीहरू मसँग कुरा गर्थे, तर कुराकानी बीचमै हराउँथ्यो, किनकि मैले सधैँ म मूर्ख होइन भनेर प्रमाणित गर्नुपर्ने आवश्यकता महसुस भइरहन्थ्यो’‚ उनले भनिन्
“रेडिकल हिस्टेरेक्टोमी“ अर्थात् क्यान्सरको जोखिमका कारण महिलाको गर्भाशय, फेलोपियन ट्यूब र अण्डाशय हटाइँदा उनलाई मानसिक भ्रम र ‘ब्रेन फग’ का लक्षणहरूले धेरै सतायो।
पछि उनले रजोनिवृत्तिको लक्षणहरू व्यवस्थापन गर्न हर्मोन रिप्लेसमेन्ट थेरापी सुरु गरिन्। तर अझै पनि ‘ब्रेन फग’ (जसले एकाग्रता र सोच्ने र बुझ्ने क्षमतालाई असर गरिरहेको छ) उनको लागि सबैभन्दा जटिल समस्या बनिरहेको छ।
सबिनाको अनुभव उनी एक्लैको मात्र होइन। पलवाशा खान जस्ता विज्ञहरूका अनुसार दक्षिण एसियाली धेरै महिलाहरूले ३० वर्षको अन्त्य वा ४० को सुरुतिर डिम्बाशयको कार्यमा गिरावट अनुभव गर्छन्। यो गिरावट प्रायः धेरै दीर्घकालीन स्वास्थ्य समस्याहरूसँग सम्बन्धित छ जसलाई बेवास्ता गरिएको पाइन्छ।
काजी भन्छिन्‚ ‘महिलाको प्रजनन अंगहरू केवल बच्चा उत्पादन गर्नका लागि मात्र हुन् भन्ने विचारको पछाडि गहिरो सांस्कृतिक भावना छ। त्यो काम पूरा भएपछि उसलाई त्याग्नु ठूलो कुरा होइन।‘
पलवाशा खान दक्षिण एसियाली महिलाहरूमा द्रुत बुढ्यौली प्रक्रियाको पछाडि निरन्तर रोगहरू, मानसिक तनाव र सामाजिक दबाब जस्ता धेरै कारण रहेको बताउँछिन्।
‘महिलाहरू अहिले धेरै थाकेका छन्। समाजको बोझ, बाँच्ने अपेक्षा सबै कुराको बोझ महिलाहरूले आफ्नो थाप्लोमा बोक्छन् र यही कारणले गर्दा उनीहरू चाँडै बूढी हुँदै छन्’‚ खानले भनिन्।
समाज यी महिलाहरूले कुनै पनि सहयोगबिना हरेक भूमिका खेलून् भन्ने चाहन्छ, चाहे त्यो आमा होस्, बुहारी होस्, वा काम गर्ने श्रीमती होस् भन्ने उनलाई लाग्छ। ‘यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ, जसको बारेमा कुनै कुरा हुँदैन’‚ उनले थपिन्। थाहा खबर
