पहिरोले थुनिएको म्याग्दी खोलामा पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सेयर गर्नुहोस

म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएर ताल बनेको थियो। अहिले भने पानी बग्न थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए। त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ।

धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो। बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताए।

छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन्।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्न सकिने अध्यक्ष पुनले जानकारी दिए।

उनले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउने सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताए। धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।थाहा खबर

Facebook Comments Box