पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

सेयर गर्नुहोस

जनकपुरधाम : जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगर-१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा दिदीबहिनी एकैसाथ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगर-१६ कपिलेश्वरका शम्भु राउतकी ४ वर्षीया छोरी आरोही कुमारी राउत र ३ वर्षीया छोरी मैथिली कुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताए।

स्थानीय कैलाश राउतका अनुसार उनीहरू बिहानको समयमा गाउँ नजिकै रहेको पोखरीमा नुहाउन गएका थिए।

नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीहरूलाई बचाउन प्रयास गरिए पनि सफल हुन सकिएन। उद्धारका लागि बोलाइएको टोलीले पोखरीबाट निकाल्दा दुवैको अवस्था गम्भीर थियो र अस्पताल लैजादा चिकित्सकहरूले मृत घोषित गरे।

घटनाले गाउँमा शोकको वातावरण छाएको छ। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रहरीले पोखरी नजिक सुरक्षा उपाय अपनाउन र यस्ता घटनाबाट बच्न सजग रहन स्थानीयलाई आग्रह गरेको छ।

मृतक आरोही र मैथिलीलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको अस्पताल स्रोतले जानकारी दियो। थाहा खबर

Facebook Comments Box