रामको जन्मभूमि नेपालमै हो : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस

२३ असार २०८२, सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः भगवान रामको जन्मस्थल नेपालमै पर्छ भन्ने दाबी गरेका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले रामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा पर्छ भन्ने अघिल्लो दाबी दोहोर्‍याएका हुन्।

प्रधानमन्त्री ओलीले कोही पनि केवल “कथा हालेर” रामको जन्मस्थान परिवर्तन गर्न नसक्ने उल्लेख गरे। “राम जन्मिएका ठाउँ अहिले नेपालको भूमिमा पर्छ,” उनले भने, “त्यो बेला के थियो म भन्दिनँ, थारु गाउँ थियो कि के थियो, तर अहिले त्यो भूभाग नेपालमा पर्छ।”

उनले रामायण, विशेषतः वाल्मीकिकृत रामायणमा विश्वामित्रले राम र लक्ष्मणलाई शिक्षा दिन कोशी नदी पार गरेको प्रसंग उल्लेख गर्दै त्यसले पनि रामको जन्मस्थल नेपालमा पर्दछ भन्ने तर्क पुष्टि हुने बताए।

“शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्। अनि राम पनि यहीँ जन्मेका हुन्,” उनले भने। “हामी प्रचार गर्न डराउँछौं। कसैको रिसले डराउँछौं। साँचो बोल्दा रिसाउँछ कि भनेर मुख थुन्छौं भने के गरी खान्छौं?” भन्दै उनले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्न आह्वान गरे।

प्रधानमन्त्री ओलीले पर्यटन प्रवर्द्धनमा आधुनिक प्रविधिको प्रयोग आवश्यक भएको बताउँदै नेपालको प्रचारप्रसारका लागि अनलाइन माध्यम पर्याप्त हुने धारणा राखे। “टुरिजम बोर्ड विदेश गइरहनु पर्दैन,” उनले भने, “नेपालमै बसेर विश्वभर प्रचार गर्न सकिन्छ।” उनको पछिल्ला अभिव्यक्तिहरूले पुनः रामको जन्मस्थलसम्बन्धी बहसलाई ताजा बनाएको छ, जुन पहिले पनि विवादास्पद बनिसकेको थियो। बुटवल टुडे

Facebook Comments Box