मायादेवी गाउँपालिकामा तलब तह मिलानको माग गर्दै कर्मचारी आन्दोलित ।।

सेयर गर्नुहोस

असार १३ गते ।
मायादेवी गाउँपालिका, पकडीका कर्मचारीहरूले तलब तह मिलान र वृद्धि सम्बन्धी माग राख्दै आन्दोलनको चेतावनी दिएका छन । स्थानीय निजामती सेवा ऐन २०८१ र नियमावली २०८१ बमोजिम सबै कर्मचारीको तह मिलान र तलब वृद्धि हुनुपर्नेमा केहीलाई मात्र सुविधा दिइएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।

कर्मचारीहरूका अनुसार, गाउँपालिकाले कर्मचारीहरूको विवरण संकलन गरी तह मिलान प्रक्रिया अघि बढाए पनि कतिपय कर्मचारीलाई मात्र तलब वृद्धि भएको छ । बाँकी कर्मचारीहरूलाई नत तह मिलान गरिएको छ, नत तलब वृद्धि । यस्तो व्यवहार विभेदपूर्ण र अपारदर्शी भएको उनीहरूको भनाइ छ ।

ध्यानाकर्षण पत्रमार्फत कर्मचारीहरूले तीन चरणको आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले असार १५ गतेसम्मको आफ्ना समस्या समाधान गर्नका लागी समयसिमा निर्धारण गरेका छन् । सो अवधीमा आफ्ना माग सम्बोधन नभएमा पहिलो चरण अन्र्तगत असार १६ गतेदेखि कालोपट्टी बाँधी कार्यस्थलमा काम गर्ने, दोस्रो चरणमा असार १७ गतेबाट पेन डाउन गरी काम ठप्प पार्ने, र तेस्रो चरणमा असार १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष घेराउ गर्ने निर्णय गरेका छन् ।

उनीहरूले तत्काल तह मिलान गरी तलब वृद्धि गर्न माग गर्दै सोको जानकारी सार्वजनिक रूपमा प्रकाशित गर्न समेत आग्रह गरेका छन् । तह मिलान र तहवृद्धि भएका कर्मचारीहरुलाई तहवृद्धि भएको मिति देखि तह अनुसार को तलब भुक्तानी गर्नु पर्ने र तह वृद्धि नगरेका कर्मचारीहरुलाई तुरुन्त तह वृद्धि गर्नु पर्ने माग उनीहरुको छ । सम्बन्धित पक्षले समयमै सुनुवाइ नगरे कर्मचारी आन्दोलन चर्किने संकेत दिएका छन् । कार्यालयभित्रै विभेदपूर्ण संस्कृति मौलाएको प्रति अधिकांश कर्मचारी रुष्ट देखिएका छन् ।

Facebook Comments Box