महिलालाई उद्यमी बनाउन बेसार प्रशोधन तथा बजारीकरण सम्बन्धी तालिम
निलो मसिनिलो मसि २०८२ असार ११, बुधबार ११:३४ गते
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ११ असार । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा बेसार प्रशाेधन तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । मंगलबार सुन्दर भविष्य निर्माण समितिकाे आयाेजना र गाउँपालिकाकाे सहयोगमा बेसार प्रशाेधन तथा बजारीकरण सम्बन्धी तालिम दिइकाे हाे ।
गाउँपालिकाकाे वडा नम्बर १ चाफा, गुगाैली, श्रीरामपुर, मधुनगरा गाउँका २३ महिलालाई उक्त तालिम दिइएकाे आयाेजक संस्थाकी अध्यक्ष गायत्री खत्रीले जानकारी दिइन् । महिलालाई उद्यममा आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि गाउँपालिकाले जाेड दिइएको उनले बताइन् । सेचेन करुणा संस्थाले त्यहाँका नागरिकलाई बेसारमा आत्मनिर्भर बनाउने उदेश्यले ५० किलाे बेसार वितरण गरेकाे थियोे ।
महिलाहरूलाई स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थहरूबाट मसला, बेसार तथा सर्वोत्तम पीठो बनाउन र बजारमा ल्याउन आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले समेत तालिम प्रदान गरिएको हाे । आर्थिक स्वतन्त्रता बढाउने, खाद्य सुरक्षामा सुधार गर्ने र महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्ने आयाेजकले जनाइएको छ ।
मुख्य प्रशिक्षक तिलकराम भुसालले मसला, बेसार तथा सर्वोत्तम पिठो उत्पादन, कृषि उत्पादनहरूमा मूल्य अभिवृद्धिको महत्व, गुणस्तरीय कच्चा पदार्थको पहिचान र स्रोत निर्धारण विषयमा प्रशिक्षण दिइएका हुन् । उनले मसला, बेसार वा सर्वोत्तम पीठो पिस्ने, मिसाउने र भण्डारण गर्ने, स्वच्छ प्याकेजिङ र लेबलिङ गर्ने, उत्पादनको गुणस्तर र सरसफाई मापदण्डहरू कायम राख्ने, विभिन्न सामग्रीहरूको पौष्टिक फाइदाहरू बुझ्ने,
व्यवसाय योजना र लागत निर्धारण गर्ने, स्थानीय बजारमा उत्पादनहरूको ब्रान्डिङ र बिक्री, वित्तीय स्रोतहरू पहुँच गर्ने र नेटवर्किङ गर्ने लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
बेसार पिस्नको लागि चक्की मिल, पल्भाईजर मेसिन, सेमी-अटोमेटीक प्याकेजिङ मेसिन, डिजिटल तराजु, प्याकेजिङ पलास्टिक, डिब्बा, बेसारको सुठो लगायतका सामाग्री खरिद गरि वितरण समेत गरिएको आयाेजकले जनाइएको छ ।
कार्यक्रममा १ नम्बरका वडा सचिव बाल बहादुर थापा, सेचेन करुणा कपिलवस्तुका प्रमुख हुमलाल अधिकारी, भविष्य निर्माण समिति संस्थाकी सचिव सम्झना गुरूङ लगायतकाे उपस्थिति थियोे ।
