किन बिकेन चैते धान ?विज्ञ भन्छन् : सरकार आफैंले खरिद क्षमता बढाउनुपर्छ

सेयर गर्नुहोस

सरस्वती अधिकारी

काठमाडौँ : नेपालले मुख्य खाद्य बाली धानमा आत्मनिर्भर बन्ने अठोट गर्दै आएको छ। जसअनुसार सरकारले धानको प्रवर्द्धन गर्न, खेती हुने क्षेत्रफलसँगै उत्पादन बढाउने र किसानले उत्पादन गरेका धानको बजार सुनिश्चित गर्ने प्रयास गरिरहेको जनाएको छ।

विज्ञहरूले विशेषगरी चैते धान हुने क्षेत्रफल बढाएर धानमा आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुन सकिने बताउँदै आएका छन्। वर्षे धानको तुलनामा चैते धान धेरै फल्छ। उत्पादकत्व बढी हुने भएकाले नेपालमा वर्षेनि हुने अर्बौँ रुपैयाँको धान चामलको आयात प्रतिस्थापनमा चैते धान खेती महत्त्वपूर्ण विकल्प हुनसक्ने विज्ञको तर्क छ।

यही सोचअनुसार सरकारले चैते धान खेती प्रवर्द्धन गरी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ तर उत्पादन बढाउने गरी कार्यक्रम ल्याएको सरकारको खरिदबिक्री व्यवस्थापन कमजोर देखिएको छ, जसका कारण किसान मारमा परेका छन्

हौसिएर चैते धान लगाएका किसान यसपटक पटक्कै खुसी छैनन्। गत वर्षभन्दा धेरै धान फलाएका किसान नबिकेर, बिके पनि उचित मूल्य नपाउँदा लगानीसमेत नउठ्ने भएपछि चिन्तित छन्। चैते धानको उत्पादन बढ्दा पनि मागमा आएको कमीले मूल्य घटेको छ।

समर्थन मूल्यभन्दा आधा पनि पाइएन

गतवर्ष बजारको मागअनुसार चैते धान आपूर्ति हुन सकेको थिएन। त्यसबेला राम्रो आम्दानी गरेका किसानले यस वर्ष दोब्बर धान फलाए तर भण्डारण र बिक्रीवितरणमा समस्या आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू बताउँछन्।

सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ। यसैगरी १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने भनिएको छ।

यसअघि आर्थिक वर्ष २०८०।८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य २ हजार ७०७ रुपैयाँ २८ पैसा तोकिएको थियो।
बाली लगाउनुअघि नै मूल्य तोक्ने गरिन्छ तर किसानले न्यूनतम मूल्यभन्दा निकै कममा पनि धान बेच्न नसकिएको गुनासो गरेका छन्। प्रतिक्विन्टल १ हजार ८०० रुपैयाँमा समेत धान विक्री नभएको उनीहरुले बताएका छन्।

किन बिकेन चैते धान ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर के.सी मूल्यका कारण धानको बजारीकरणमा समस्या देखिएको बताउँछन्। भारतीय धान भित्रिएका कारण पनि यहाँको धान नबिकेको आशंका अधिकारीहरूले गरेका छन्।

भारतले धानको बफर स्टक रिलिज गरेपछि सस्तोमा किनेर व्यापारीले ल्याउने गरेको पाइन्छ। कानूनी रूपमा ल्याउन नमिल्ने भए पनि खुला सिमानाका कारण अवैध रूपमा नेपालमा भित्रिने त्यस्ता सस्तो धानले गर्दा यहाँको धानले मूल्य नपाउने गरेका पाइन्छ। व्यापारीले भारतबाट सस्तो धान ल्याएर भण्डारण गर्दा मूल्य घटेको र आयात पनि बढेको हुनसक्ने अनुमान गरिएको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख डा. केसीले बताए।

मन्त्रालयका अर्का सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठ चैते धानको बजारीकरणमा देखिएको समस्याबारे अध्ययन गरी समाधानको उपाय खोज्न मन्त्रालयले एउटा टोली बनाएर छलफल अगाडि बढाएको बताउँछन्।

‘पोहर साल किसानले चैते धानको राम्रो मूल्य पाएका थिए, एक वर्षको कुरा मात्र होइन, यसको दीर्घकालीन खोज्नुपर्छ’, डा. श्रेष्ठले भने । नेपालको कृषिलाई भारतको नीतिसँग जोडेर हेर्नुपर्छ भन्दै उनले भारतमा उत्पादन लागत कम हुने हुँदा त्यहाँको उपज यहाँ आउँदा यताको बजार घट्ने गरेको र अहिले पनि त्यही भएको देखिएको बताए।

सरकारले खरिद बढाउनुपर्छ : विज्ञ

वरिष्ठ माटो विज्ञ बलराम रिजाल सरकार आफैंले किसानको धान उत्पादन गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिन्छन्।

‘खाद्य तथा व्यापार कम्पनीले एकदमै थोरै मात्र खरिद गर्‍यो, त्यसमा पनि चैते धान अझै खरिद हुन सकेको छैन’, रिजालले भने‚ ‘चैते धानको बजारीकरणको समस्या समाधानको उपाय सरकारको माथिल्लो निकाय बाटै हुन जरुरी छ, सरकार आफैंले खाद्य गोदामहरू बनाएर कम्तीमा एक दुई लाख मेट्रिक टन खरिद गर्ने योजना नहुँदासम्म किसान चैते धान खेतीमा उत्साहित हुने आधार छैन।’

धानको प्रवर्द्धनका लागि प्रोत्साहित गर्ने खालका कार्यक्रम, योजना ल्याएर किसानलाई धान खेतीतर्फ आकर्षित गर्नुपर्ने उनी बताउँछन्। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक एवं वरिष्ठ वैज्ञानिक मथुरा यादव धान चामलको आयातलाई तत्कालै प्रतिस्थापन गर्न नसके पनि चैते धान, हाइब्रिड र मसिना तथा वासना दार जातका धानको खेती बढाउनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार धानका केही हाइब्रिड जातहरू प्रतिहेक्टर ६ टन सम्म फल्छ।

‘किसानको उत्पादन लागत घटाइदिएर किसानलाई फाइदा दिनुपर्छ अनिमात्र उनीहरू धान खेतीमा आकर्षित हुन्छन्’‚ उनले भने, मलखाद, सिँचाइको उचित व्यवस्थापनसँगै धान भित्र्याउने आधुनिक मेसिनको प्रयोगमा किसानलाई प्रोत्साहित गर्न सके चैते धान खेतीमा आकर्षण बढ्छ।’

बजार व्यवस्थित गरिने

चैते धानको खेती प्रवर्द्धनसँगै भण्डारण एवं बिक्री वितरणका लागि सरकारले प्रयास गरिरहेको तथापि अझ धेरै गर्न बाँकी रहेको डा. श्रेष्ठले बताए। चैते धान भित्र्याउने बेला वर्षा सुरु हुने भएकाले भिजेर धेरै छिटो बिग्रन सक्छ।

‘चैते धानका लागि दीर्घकालीन समाधान भनेको उत्पादनको लागत घटाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको क्षमता बढाएर ड्रायरको सुविधा, भण्डारणको क्षमता बढाउने र किसानको धान नबिक्ने अवस्था आयो भने न्यूनतम समर्थन मूल्यमा किनिदिने खालको नीति सरकारको छ’‚ सहसचिव डा. श्रेष्ठले भने। तथापि यसमा बजेट जोडिनुका साथै तुरुन्तै संरचनाको व्यवस्था भइहाल्ने अवस्था हुँदैन।

खाद्यले अहिले भएभरका सबै लिन्छौं भन्दा ड्रायरको सुविधा छैन भने भण्डारण क्षमता पनि पुग्दैन। ‘त्यसकारण मन्त्रालयले यस विषयलाई गम्भीरपूर्वक लिएर अध्ययन गर्न एउटा कार्यदल बनाइसकेको छ, कार्यदलले अब के गर्नुपर्छ भनेर भन्ला’‚ उनले थपे ।

अर्कोतर्फ क्रमिक रुपमा उत्पादनमा विविधीकरण गर्न जरुरी रहेको डा. श्रेष्ठ बताउँछन्। ‘किसानलाई फाइदा, स्वास्थ्य पनि राम्रो बनाउने गरी खाने बानीमा पनि परिवर्तन गर्नुपर्छ। धानको भातको सट्टा मकै, गहुँ, कोदो, चिनो, कागुनो, फापर पनि खानुपर्यो, खेती पातीमा रैथाने बालीलाई पनि लगाउनुपर्‍यो’‚ उनले भने।

ठुलो अर्थतन्त्र भएको भारत नजिक रहेको र खुल्ला सिमानाका कारण नेपाली उत्पादनको बजारमा सधैं असर गर्ने गरेको छ। भारतमा धेरै वस्तुमा अनुदान, प्रविधिमा किसानको पहुँच छ, ठूलो स्केलका कारण उसका उत्पादन सस्तो हुन्छ। नेपालले खाद्य बालीमा धेरै अनुदान दिन नसक्दा किसानको उत्पादन लागत धेरै हुने र महँगो पर्छ। यसकारण पनि खाद्यान्नमा भन्सार लगाइदिने विषयमा बहस भइरहेको डा. श्रेष्ठले बताए।

वाणिज्य र पारवहन सन्धिले कृषि उपजमा शून्य भन्सारदर भनेको छ। धान, मकै, गहुँ, तरकारी, दूध, अन्डा जस्ता खाद्यान्नमा भन्सार लगाइदिने विषयमा छलफल समेत चलेको उनले बताए । नेपालले कृषि सुधार शुल्क भनेर ५ देखि ९ प्रतिशतसम्म लगाउने गरेको छ।

‘तर त्यो पर्याप्त छैन रोक्नका लागि, किनभने उताको धेरै सस्तो छ, त्यसकारण अब भन्सार लगाउने गरीकन अध्ययन भइरहेको छ, भारत पनि त्यसमा नकारात्मक छैन’‚ सहसचिव श्रेष्ठले भने‚ ‘उताबाट आउने उत्पादनमा भन्सार लगाइदियौँ भने महँगो हुन्छ, यसले हाम्रा किसानलाई राहत हुन्छ भन्ने उद्देश्यले यसतर्फ पनि काम भइरहेको छ।’

चैते धान प्रवर्द्धनमा सरकार

सरकारले आगामी आवको बजेटमार्फत चैते धान खेती प्रवर्द्धन गर्ने घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २०८२।८३ को बजेटमा दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने र यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छ। चैते धान खेतीका लागि सिँचाई पूर्वाधार निर्माण गर्न ३३ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ।

मन्त्रालयका सहसचिव डा. के.सी चैते धानका लागि सिँचाइको व्यवस्थासँगै धेरै फल्ने उन्नत जातको विकास, रासायनिक मलको पर्याप्तता, मेसिनरीमा अनुदानका कुरा प्रवर्द्धन कार्यक्रममा जोडिएको बताउँछन्।

सरकारले मिलसँग किसानलाई सिधै जोड्ने र मिलहरूले पहिले नै मूल्य तोकिदिने गरे किसानले मूल्य पाउने गरी कार्य भइरहेको उनले बताए। ‘यसैगरी राज्यले न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नुपर्‍यो, निश्चित मूल्यभन्दा तल जाँदा खरिद गर्ने व्यवस्था छ’, उनले भने‚ ‘विधिवत् रूपमा हामीसँग सबै व्यवस्था छ, तथापि पूर्वाधार र त्यससँग सम्बन्धित आवश्यक अन्य केही कुराको अभाव मात्र हो।’

सरकार आफैंले पनि खरिदबिक्री क्षमता बढाउनुपर्ने स्वीकार्दै डा. केसीले धेरैजसो मिलमा धान सुकाउने ड्रायरको सुविधा नहुँदा चैते धान किन्न रुचि नदेखिएको पाइएको बताए ।

कुन वर्ष कति फल्यो चैते धान ?

आव २०७९/८० मा १ लाख ८ हजार ६०७ हेक्टरमा चैते धान लगाइएकामा ५ लाख ४० हजार ३३१ मेट्रिक टन फलेको थियो, जुन प्रतिहेक्टर ४.९८ टन हुन आउँछ।

यसैगरी २०८०।८१ मा १ लाख ४ हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको थियो भने ५ लाख २० हजार ८०८ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९७ मेट्रिक टन रहेको छ। वर्षे धान १४ लाख ६४ हजार ३८९ हेक्टरमा लगाइएकोमा ५४ लाख ४७ हजार ४२१ मेट्रिक टन फलेको थियो जसको उत्पादकत्व प्रतिहेक्टर ३.९८ प्रतिशत रह्यो।

चालू आर्थिक वर्ष २०८१।८२ मा १ लाख ९ हेक्टरमा चैते धान लगाइएकोमा ५ लाख ४४ हजार मेट्रिक टन धान फलेको छ।

फलाउन सजिलो, जोगाउन गाह्रो चैते धान

नेपालमा चैते धानका जातहरू हर्दिनाथ १ (तराई, भित्री मधेश, रिभर बेसिन ८०० मिटरसम्म), हर्दिनाथ ३ र चैते ५, (समुद्री सतहदेखि ७०० मिटर उचाइसम्मको तराई, भित्री मधेश, नदी किनार, बेसी तथा समतल फाँट), चैते २ (तराईको सिँचित भूमि), र चैते ६ (तराई र भित्री मधेस (३०० मिटरसम्मको सिँचित भूमि) का क्षेत्रहरूमा सिफारिस गरिएको छ ।

चैत महिना भरी चैते धान रोप्ने गरिएको छ। चैतको लामो दिन, आकाशमा बादल नलाग्ने, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति हरित कणमार्फत बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुन्छ। आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले रोगको समस्या पनि कम हुन्छ।

किसानले चैते धानको ब्याड फागुन महिनाको दोस्रो सातासम्म राखिसक्छन्। त्यस समयमा भने बाहिर तापक्रम कम हुने भएकाले बेर्ना नउम्रने, उम्रन ढिला हुने र उम्रेको पनि रोग, कीराले चाँडै खाइदिने हुनसक्छ। भित्र्याउने बेलामा पनि मौसमी प्रतिकूलताका कारण समस्या हुने गरेको किसान बताउँछन्।

चैते धान जेठको अन्तिम वा असार मध्यमा काटिने गरिन्छ। किसानले चैते धान असारमा भित्र्याउन भ्याइ/नभ्याइ हुने, पानीले भिजेर अर्को वर्षका लागि बीउका रूपमा प्रयोग गर्न पनि गाह्रो हुने गरेको बताउँछन्।

तथापि, समयमै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सके चैते धान बढीभन्दा बढी उत्पादन गर्न सकिने विज्ञ बताउँछन्। सामान्य अवस्थाभन्दा दुई हप्ता छिटो रोपाइँ गर्न सके वर्षा सुरु हुनुअगावै चैते धान भित्र्याउन सकिने र भिजेर हुने नोक्सानीबाट बच्न सकिने विज्ञको भनाइ छ।थाहा खबर

Facebook Comments Box