भृकुटी मावि लगायत चार विद्यालयमा एनसिसी जुनियर डिभिजन तालिम शुभारम्भ


कपिलवस्तु, असार १० । बुद्धभुमी नगरपालिकाकाे भृकुटी माविसहित जिल्लाका चार विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps – NCC) अन्तर्गतको जुनियर डिभिजन तालिम औपचारिक रूपमा शुरु भएकाे छ।
जिल्लाकाे बुद्धभूमि,वाणगंगा र कपिलवस्तु नगरपालिकाका कुल ४ वटा विद्यालयमा सञ्चालित तालिमको उद्घाटन हिजाे नेपाली सेनाको शमशेर दल गण, गोरुसिङ्गेका गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारीले गर्नुभएकाे थियाे ।
हिजाेदेखि सुरु गरिएको उक्त तालिम वाणगंगा नगरपालिका–२ हिलबर्ट बोर्डिङ स्कुल, कपिलवस्तु नगरपालिकाकाे राष्ट्रिय माध्यमिक विद्यालय विकुली र बुद्धभूमि नगरपालिकाकाे भृकुटी माध्यमिक विद्यालय, बुड्ढी र जनकल्याण माध्यमिक विद्यालय बकुलीपुर रहेका छन् । प्रत्येक विद्यालयबाट कक्षा ८, ९ र १० का १५।१५ जना छात्र तथा छात्रा तालिममा सहभागी भएका छन्।
उक्त तालिम विद्यालयको अतिरिक्त समयमा १०० दिन सम्म विद्यालयमै सञ्चालन हुनेछ। नेपाली सेनाको वार्षिक कार्यतालिका अन्तर्गत हरेक वर्ष देशभरका विभिन्न विद्यालयमा एनसिसी तालिम सञ्चालन हुदै आएको छ।
तालिमको शुभारम्भ गर्दै शमशेर दल गणका गणपती प्रमुख सेनानी विदुरध्वज अधिकारीले एनसिसी तालिम विद्यार्थीहरूमा राष्ट्रिय भावना, अनुशासन, इमान्दारिता, नेतृत्व क्षमता, विपद् व्यवस्थापन, प्राथमिक उपचार, सामाजिक सेवा लगायतका विषयमा प्रभावकारी योगदान पुर्याउने बताउनुभयो। “एनसिसी तालिमले विद्यार्थीहरूलाई राष्ट्र र समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्छ, साथै उनीहरूलाई आपतकालीन अवस्थामा सेवा गर्न सक्षम बनाउँछ ”उहाँले भन्नुभयो ।
तालिममा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेटहरूलाई राष्ट्रबाहिरका विभिन्न एनसिसी कार्यक्रमको अवलोकन भ्रमणमा सहभागी गराउने अवसर समेत प्रदान गरिनेछ। यसले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय भ्रमण र सिकाई अभिवृद्धि गर्न र उनीहरूको आत्मविश्वास बलियो बनाउने अपेक्षा गरिएको छ।
एनसिसी नेपाली सेनाको नेतृत्वमा सञ्चालन हुने एक अर्धसैनिक तालिम कार्यक्रम जस्तै हो, जुन विद्यालय तथा क्याम्पस तहका विद्यार्थीहरूका लागि लक्षित गरिएको हुन्छ। यसको उद्देश्य विद्यार्थीहरूमा अनुशासन, राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व, र नेतृत्व क्षमता विकास गर्नु । विपद् व्यवस्थापन, सामाजिक सेवा, सैन्य अनुशासन, र आत्मरक्षा सम्बन्धी सीप प्रदान गर्नु। विद्यार्थीहरूलाई भविष्यमा सेना, प्रहरी, सुरक्षासेवा तथा अन्य सामाजिक सेवा क्षेत्रतर्फ आकर्षित गर्नु लगाएतको रहेको छ । नेपालमा एनसिसी कार्यक्रम पहिलो पटक २०१३ सालमा सुरु गरिएको हो र हाल देशका ५० भन्दा बढी जिल्लामा यो कार्यक्रम विस्तार भइसकेको छ।
यो तालिम विद्यार्थीको व्यक्तित्व विकास, राष्ट्रिय चेतना अभिवृद्धि, र सामाजिक सेवामा सकृयता बढाउनका लागि एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। कपिलवस्तु जिल्लामा यसरी एकसाथ चार विद्यालयमा तालिम सुरु हुनु भनेको जिल्ला स्तरमा राष्ट्रनिर्माणमा शिक्षालाई सेना र सामाजिक सेवासँग जोड्ने सकारात्मक कदमकाे रूपमा लिइएको छ ।
