पिपरा अस्पतालमै जटिल शल्यक्रिया, जोगायो आमा र शिशुको ज्यान

सेयर गर्नुहोस

कपिलवस्तु । पूर्व प्रसूति जाँच नगरी बच्चा जन्माउन आएकी महिलालाई पिपरा अस्पतालले जटिल शल्यक्रियाको सहायताले आमा र शिशुको जीवन जोगाएको छ। बाणगंगा नगरपालिका–६ की ३३ वर्षीया ममता गन्धर्व (नाम परिवर्तन) बुधवार साँझ पेट दुखाइको कारण अस्पताल ल्याइएकी थिइन्।

गर्भावस्थाभरि गरिनुपर्ने आठवटा अनिवार्य चेकजाँच नगरेका कारण उनको शिशुको तौल असामान्य रूपमा बढेको र जटिलता आएको अस्पतालले जनाएको छ।

“शिशुको तौल पाँच केजी पाइएकोले अप्रेसन निकै चुनौतीपूर्ण रह्यो, ” मेडिकल सुपरिटेन्डेन्ट डा. सरस्वती भट्टराईले भनिन् ।

महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनालले थपिन, “चार केजी भन्दा बढी तौल भएको शिशु निकाल्दा अत्यधिक रक्तस्राव र स्वास्थ्य जोखिम रहन्छ। तर चिकित्सक टोलीको तत्परताले आमा र शिशु दुवैको जीवन सुरक्षित रह्यो।”
ममता चौथो सन्तान जन्माउन आएकी थिइन्। उपचार खर्चको अभाव रहेकाले अस्पतालका कर्मचारीहरूले व्यक्तिगत रूपमा समेत सहयोग गरेका थिए। अस्पतालले शल्यक्रिया, औषधि, रगत व्यवस्थापन र पौष्टिक आहार निःशुल्क उपलब्ध गराएको थियो।

पिपरा अस्पतालले २०८१ साल भदौदेखि शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ।

यता बाणगंगा नगरपालिकाका नगरप्र्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई हरेक प्रकारका स्वास्थ्य सेवाहरु नगरकै अपतालमा दिने गरि आवश्यक प्रबन्ध मिलाईएको बताए । उनले पिपरा अस्पतालले कामबाटै पछिल्लो समय सबैको विश्वास जित्दै गएकोमा खुशी व्यक्ति गरे । वैखरी

Facebook Comments Box