बुद्धभूमिको अनुमानित बजेट : १ अर्व २२ करोड २२ लाख ६१ हजार
वैखरी अनलाईन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार नगरप्रमुख केशवकुमार श्रेष्ठले १७औं नगरसभाको पहिलो बैठकमा बहुबर्षीय र अधुरा योजनालाई प्राथमिकता दिदैं नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
‘खुशी नगरबासी : समृद्ध बुद्धभुमी’ भन्ने नारा र ‘जलासय, कृषि, वन र पुर्वाधार, खुसी, सुखी बुद्धमभुमीको मुल आधार’ भन्ने दीर्घकालीन सोचसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने र श्रमको सम्मानमा जोड दिने उल्लेख छ ।
त्यस्तै विपदको सम्बोधन गर्ने र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने कार्यक्रम समेटिएको छ ।
यस्तै निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य रुपमा समेटिएको छ । नगरले संचालन गर्दै आएको गौरबका आयोजनालाई समावेश गरिएको छ । सबै सरोकारवालाको अपनत्व वृद्धि गर्न ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ संचालन गरिने उल्लेख छ । कृषिमा व्यवसायिकताका लागि एक वडा एक उत्पादन कार्यक्रम संचालन बताईएको छ ।
नगरप्रमुख श्रेष्ठले वन डढेलो नियन्त्रण गर्न पातबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम संचालन गरिने बताउनुभयो । सो क्रममा उहाँले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि १ अर्व २२ करोड २२ लाख ६१ हजार रुपैयाको अनुमानित बजेट ल्याउने तयारी गरिएको बताउनुभयो । यस आर्थिक बर्षमा ल्याईने सो बजेट गत बर्षको तुलनामा २ करोडले कम हो ।
बुद्धभूमिले २०८१/८२ का लागि रु. १ अर्ब २० करोड ३२ लाख ९६ हजार रुपैयाँ बजेट ल्याएको थियो । नगरप्रमुख श्रेष्ठले टिक्कर–बुढ्ढी बिचगौरी सडक, बुढ्ढी तालको सुन्दरीकरण र १५ बेडको अस्पताल निर्माणलाई नगरपालिकाले गौरवको योजनामा राखेर अघि बढाएको बताउनुभयो । उहाँले अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
नगर उपप्रमुख मीरा थारुले न्यायिक समितिको प्रगति प्रतिवेदनसहित विनियोजन ऐन, आर्थिक ऐन र दररेट ऐन प्रस्तुत गर्नुभएको थियो । विधयेक समितिका संयोजक संदीप पाण्डेयले छाडा पशुचौपाय ब्यवस्थापन र नियन्त्रण गौशाला संचालन बिधेयक २०८२, नदीजन्य पदार्थ ब्यवस्थापन बिधेयक २०८२, स्वास्थ्य सेवा ऐन २०८१ पहिलो संशोधन र खानेपानी तथा सरसफाई २०७९ को पहिलो संशोधन सभामा पेश गर्नुभएको थियो ।
यस्तै आर्थिक समितिका संयोजक गोबिन्द प्रसाद आचार्यले नगरपालिको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वैखरी
