लुम्बिनीमा चिनियाँ भाषा परीक्षा दिने भारतीयको लर्को
लुम्बिनी । भारतको गुजरातस्थित अहमदावादबाट जयद्वीप कौरले देवदह आएर चिनियाँ भाषाको लेभल–४ परीक्षा दिए । गुजरातमा सञ्चालित चिनियाँ लगानीका ठूल्ठूला उद्योगमा काम गर्न भाषा सिकेकाले ग्राह्यता पाउने भएकाले उनी लगातार ४० घण्टा रेलयात्रा गरेर सुनौली हुँदै लुम्बिनी आएका हुन् ।
पञ्जाबकी आँचल ठाकुर स्नातक पढ्न चीन जाने तयारीमा छिन् । त्यसैका लागि उनी चिनियाँ भाषा परीक्षा दिन लुम्बिनी आइपुगेकी छन् । उनले भनिन्, ‘गुगल सर्च गरेर लुम्बिनीको पत्ता लगाएँ । डेढ दिनको यात्रामा यहाँ आइपुगें ।’
जयद्वीप र आँचलजस्तै रोजगारी र अध्ययनका लागि चिनियाँ भाषा सिक्ने भारतीयको संख्या बढ्दो छ । उनीहरूले भारतमै चिनियाँ भाषा सिक्न सक्छन् । तर त्यहाँ चिनियाँ भाषाका परीक्षा केन्द्र निकै कम छन् र तिनमा समयमै परीक्षा दिन पाइँदैन ।
‘भारतमै भाषा परीक्षा दिन एक वर्षसम्म कुर्नुपर्छ । त्यही भएर आउन–जान ८० घण्टा बढी लाग्ने भए पनि परीक्षा दिन लुम्बिनी आएँ,’ जयद्वीपले भने । उनका अनुसार भारतमै रहेका चिनियाँ लगानीका उद्योगमा पनि चिनियाँ भाषा जानेको हुनुपर्छ ।
चीन सरकारको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त चिनियाँ भाषाका परीक्षा केन्द्र नेपालमा चार ठाउँमा छन् । काठमाडौंमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र एलआरआई इन्टरनेसनल विद्यालयमा परीक्षा केन्द्र छ । उपत्यका बाहिर लुम्बिनी बौद्ध विश्वविद्यालयमा मात्र छ । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सिटी क्याम्पस देवदहमा चिनियाँ भाषाको परीक्षा केन्द्र (एचएसके टेस्ट सेन्टर) छ । सन् २०२४ अप्रिलदेखि देवदहमा परीक्षा हुँदै आएको छ । यहाँ परीक्षा दिन आउनेमा करिब ५० प्रतिशत भारतीय छन् । वैखरी
