सीमा–नाकाबाट तस्करी घट्यो कि बढ्यो ?
३१ जेष्ठ २०८२, शनिबार
भैरहवा, ३१ जेठ । सीमा क्षेत्रबाट चोरी तस्करीका घटना कसरी कम हुँदै छ भन्ने सर्वत्र चर्चा हुन थालेको छ । प्रायः सुरक्षा प्रमुखहरूले पद भार ग्रहण गरेपछि सुरु सुरुमा चेक जाँच कडा गर्ने बिस्तारै चेक जाँचका क्रियाकलाप कम हुने गरेको स्थानीयहरू बताउने गर्थे । तर पछिल्ला केही महिनादेखि रुपन्देही जिल्लाका सीमा क्षेत्रबाट सामूहिक तस्करी रोकिएको स्थानीयहरू बताउँछन् ।
एक जना प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा सामूहिक तस्करी गर्नेहरू अहिले बेरोजगार बन्दै गएपछि पलायन सम्म भएको बताए । ऊनी भन्छन् अहिले सामूहिक सङ्गठित चोरी तस्करी गर्नेहरू पलायनको बाटो रोजेको उनको भनाइ छ ।तर पछिल्लो समयमा रुपन्देही जिल्लामा सशस्त्र प्रहरी बल नेपाल २७ नं. गणमा नायब उपरीक्षकको जिम्मेवारी लिई मेखराज जोशी आएपछि व्यावसायिक चोरी तस्करीका घटना कम भएको एक कार्यालयका पूर्व कार्यालय प्रमुख बताउँछन् ।
एक जना एसपीले चाह्यो भने पुरै तस्करी रोकिने रहेछ नि तपाईँहरूले देख्नुभयो नि उनले भने । रुपन्देही जिल्लाका सीमा नाका हुँदै संगठित रूपमा हुने गरेका चोरी तस्करी न्यूनीकरणमा सशस्त्र प्रहरी बल नेपाल २७ नं. गणका एसपी मेखराज जोशीले ठुलो जोखिम लिएर काम गर्न सफल भएको उनको भनाइ छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले रुपन्देही जिल्लामा सङ्गठित चोरी तस्करी नभएको बताए । सङ्गठित तस्करी छ जस्तो लाग्दैन । अरू कार्यालयमा पनि त्यस्तो छ जस्तो लाग्दैन ।
लुकाएर कतिपय लैजाने होला । कहिले काहीँ चेक गर्दा चामलमा चिनी राख्ने, आलु प्याजमा कपडा समेत भएको पायौँ । तर पाएसम्म हामी कुनै हालतमा छाड्दैनौँ । हाम्रो कार्यालय रिजल्ट दिने हिसाबले लागेको छ विगतका वर्ष र अहिलेको राजस्व सङ्कलनमा समेत धेरै अन्तर छ उनले भने । समग्र कार्यालयको एकरूपता प्रहरीको नेतृत्व पनि कडा नै भएको अनुसन्धान अधिकृत घिमिरेको भनाइ छ ।
जति बेला जहाँ पनि पक्राउ हुन सक्छ भन्ने छ । घिमिरे भन्छन्, समग्र चोरी तस्करी गर्नेको मनोबल खस्किएको छ । ठुलो मान्छेलाई पनि मुद्दा हालिएको छ । ठुला मान्छे लाई मुद्दा हाल्नु पनि ठुलो कुरा हो । काम गर्न कहिँ कतैबाट प्रेसर समेत नभएको उनको भनाइ छ । अर्थ मन्त्रालय बाट पनि कुनै प्रेसर छैन । जे देखिएको छ त्यो काम गरिएको छ । प्रमुख अनुसन्धान अधिकृत घिमिरे भन्छन् यति स्वतन्त्र भएर काम गर्न सकिन्छ लागेको थिएन तर जे देखिएको छ त्यो काम गरिएको छ । प्रेसर बिना यो कार्यालयमा काम गर्न सकिएको छ ।
गर्ने काम नगर्न र नगर्ने काम गर्न कसैले प्रेसर दिएको छैन, घिमिरेले भने । राजस्व अनुसन्धान कार्यालयले आर्थिक वर्ष ०८१/८२ मा ८१ साउन देखि जेठ २० गतेसम्म २ करोड ९० लाख ५५ हजार ७ सय ५ रुपैयाँ बराबरका खाद्यान्न, कपडा, चिनी बरामद गरि राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरी कार्यालय रुपन्देहीले गत वर्ष ९ करोड २८ लाख ७८ हजार ७ सय २८ बराबर मूल्यका अवैध सामान बरामद गरी राजस्व सङ्कलन गरेको थियो ।
त्यसै गरी यो आर्थिक वर्ष ८१/८२ मा जेठ २० गतेसम्मको अवधिमा ११ करोड ३२ लाख ४३ हजार २ सय ६४ बराबर मूल्यका सामान बरामद गरेको तथ्याङ्क रहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका एसपी मेखराज जोशीले रुपन्देही जिल्लामा सङ्गठित कुनै चोरी तस्करी नभएको बताए ।
सूचना पाएसम्म सबै सङ्गठित चोरी तस्करी नियन्त्रणमा लिए कानुनी कारबाही गरिएको उनको भनाइ छ । कहिँकतै मिलेमतोमा छैन । पाइएको छैन । घरायसी केही ल्याए होलान्, ठुलो मात्रामा कसैले ल्याएका छैनन् । हाल साना किराना जन्य मात्रै बरामद भएका छन् । जोशीले भने ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ८१/८२ को आर्थिक वर्षमा जेठ २३ गतेसम्म ८ करोड ८२ लाख ३८ हजार ५ सय ३९ बराबरका अवैध सामान बरामद गरी राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले भन्सार चोरी तस्करी गर्नेहरूको भागाभाग अवस्था रहेको बताउँछन् ।
अहिले त चोरी तस्करी गर्नेहरू लाखा पाखा लागिसकेको उनको भनाइ छ ।भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले अहिले दैनिक परिमाण सानो भए पनि एक दिनमै विभिन्न विभाग एरियाबाट सामानहरू आउने गरेको बताए । रुपन्देही जिल्लामा पछिल्लो समयमा चोरी तस्करीका घटना धेरै कम हुने गरेको रेग्मीको भनाइ छ । शशि पन्थी
