कामपाको सीपमेला : कतिलाई दिइयो तालिम, कतिले पाए रोजगार ?
काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा फेरी ‘सीप मेला’ सञ्चालन गरेको छ। जेठ ७ गतेदेखि सुरु भएको महानगरको गौरव योजनाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत याे मेला सञ्चालन भएको हो।
महानगरपालिकाका अनुसार गएको आर्थिक वर्षबाट सुरु भएको सीप मेला दोस्रो संस्करण यतिखेर टुँडिखेलमा चलिरहेको छ। यसअन्तर्गत १५ हजार व्यक्तिलाई सीपमूलक तालिम दिइनेछ। तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने लक्ष्य राखिएको छ।
दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिएका छन्। यसमा ६ हजार ५२२ जना महिला, ८ हजार २०८ जना पुरुष र १८ जना एलजीबीटीआईक्यू छन्।
तालिमका लागि सबैभन्दा धेरै आवेदन बारिस्ता, डिजिटल मार्केटिङ र ब्युटिसियन पेसाका लागि प्राप्त भएका छन्। जसमध्ये २ हजार ५४८ जनालाई छनोट गरेर तालिममा सहभागी गराइएको छ।
महानगरपालिकाका प्रमुख बालेन शाहले सीप नजान्नेहरूलाई सीप सिकाउने, आधारभूत सीप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने मेलाको लक्ष्य रहेको जानकारी दिए।
उनले भने,‘हाल श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल कायमै छ, महानगरपालिकाले यो समस्याको समाधानलाई उच्च प्राथमिकता दिँदै मेलाका अतिरिक्त नियमित तालिम पनि प्रदान गर्दै आएको छ,तालिम सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गरिएको छ,तालिमपछि उहाँहरुलाई अन द वब ट्रेनिङ्, स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ।’
के-के विद्यामा चल्ने छ तालिम ?
महानगरपालिकाका अनुसार १० वटा विद्यामा ३७ वटा पेसासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क सञ्चालन भइरहेका छन्। मेलामा आइसीटी क्षेत्रका ७ वटा पेसा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेसाका तालिम चलिरहेका छन्।
यस्तै, विशेष क्षमता सहयोगी तालिम हाउसकिपिङ (पीडब्लुडी) र डाउन सिन्ड्रोम, अटिजमका सहजकर्ताका लागि केयर सर्भिस गरेर २ वटा विद्याका तालिम चलेका छन्। इलेक्ट्रिक्सतर्फ ल्यापटप रिपेयर टेक्निसियन, एसी र रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ र मोबाइल रिपेयरिङ गरी ४ वटा विद्याका तालिम चलेका छन्।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी २ विद्याका तालिम चलेका छन्। कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ र वेल्डिङ गरी ३ विद्याका तालिम चलेका छन्। हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ विद्या, अटोमोबाइल्समा इलेक्ट्रिक भेइकल (ईभी) मेन्टेनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कूटर मर्मत गरी ३ विद्याका तालिम चलेका छन्।
आर्ट एण्ड स्कल्प्चरमा थाङ्का र सेरामिक्स (टेराकोटा) गरी २ विद्यासँग सम्बन्धित तालिम छन्। मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट सम्बन्धी तालिम चलिरहेका छन्।
यसरी हुन्छ तालिम सञ्चालन
महानगरपालिकाका अनुसार तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ। बिहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ। ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ। ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ। एउटा कक्षामा २५ जनालाई राखिएको छ।
हरेक प्रशिक्षार्थीले १ सय घण्टाको तालिम प्राप्त गर्नसक्ने छन्। मेलाको अन्त्यमा रोजगार मेला आयोजना गरेर आफूले सीप सिकेको क्षेत्रसँग सम्बन्धित निजी, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रका व्यक्तित्वहरुसँग अन्तरक्रियात्मक छलफल गराउने महानगरकाे योजना छ।
कतिले पाए रोजगारी ?
महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आएको महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सीपमूलक तालिम दिई कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगारमा संलग्न गराउने लक्ष्य राखिएको जनाएको छ।
गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको थियो। उक्त मेलाबाट तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। त्यस मेलाबाट विभिन्न विद्यामा २ हजार ८१ जना युवालाई तालिम दिने लक्ष्य थियो भने २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको महानगरपालिकाले जनाएको छ।
‘तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका छन् भने धेरैजसो स्वरोजगारमा संलग्न भएका छन्,’प्रमुख बालेनले भनेका छन्,‘रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको छौँ।’
‘सीप मेला एकीकृत र समष्टिगत लाग्यो’
सीप मेलाको अवलोकन गर्न आएका नगर प्रमुखहरूले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेला एकीकृत र समष्टिगत भएको पाइएको बताएका छन्। मेलाको अवलोकन गर्न आएका खोटाङको हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख बिमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको बताए।
यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्ने पनि उनीहरुले प्रतिक्रिया दिए। उनीहरुले भने,‘तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सवल पक्ष लाग्यो, अन द जब ट्रेनिङ जानेका लागि न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर साझेदारीमा काम गर्नु अर्को सिकाइ योग्य अभ्यास लाग्यो।’ थाहा खबर
