अनेरास्ववियुको २४औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौं : नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको २४औँ महाधिवेशन आज शुरु हुँदैछ। जेठ २८ सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका एमालेका केपी शर्मा ओलीले दिउँसो १ बजे त्रिवि स्मृति भवन कीर्तिपुरमा गर्ने कार्यक्रम छ ।
यो महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। योपटक अनेरास्वविुयमा उमेर हद लागू गरिएको छ। एमालेको सचिवालय बैठकले अखिलमा उमेर हद लागू गर्ने निर्णय गरेसँगै ३२ वर्षमाथि उमेर पुगेका हालको समितिका अध्यक्ष समिक बडालसहित १२ पदाधिकारी बिदा हुँदैछन्।
यससँगै ३२ वर्ष मुनिका विद्यार्थी नेताहरु नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका छन्, जसमा आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाममा चर्चामा छ। पार्टी नेतृत्वले नयाँ समिति सर्वसम्मतिकै आधारमा चयन गर्न दबाब दिएको छ। तर विद्यार्थी भने मतदानबाटै नेतृत्व चयनको मनस्थितिमा छन्।
मतदान भएमा विद्युतीय मेसिनमार्फत् हुने गरी तयारी अवस्थामा रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए। थाहा खबर
