रवि लामिछानेले मागे काठमाडौँमा जेल सरुवा, विभागमा आइपुग्यो पत्रनिर्णय हुन बाँकी
काठमाडौँ : सहकारी ठगी प्रकरणमा जिल्ला कारागार कार्यालय रूपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँमा जेल सरुवा मागेका छन्।
कारागार व्यवस्थापन विभाग स्रोतले जिल्लाबाट पत्र आइपुगेको र त्यसका विषयमा निर्णय हुन भने बाँकी रहेको थाहाखबरलाई जानकारी दिएको छ। कारागार कार्यालय रूपन्देहीले आइतवार नै पत्र पठाएको हो। तीन दिन हुँदा पनि कारागार व्यवस्थापन विभागले निर्णय भने गरिसकेको छैन।
‘पूर्व गृहमन्त्री लामिछानेले नै काठमाडौँ डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेको र सोही अनुसारको निवेदन परेको थियो, सोही आधारमा केन्द्रमा पत्राचार गरिएको छ, आवश्यक निर्णय केन्द्रले गर्ला’, रूपन्देही प्रशासनका एक अधिकारीले थाहाखबरलाई बताए।
केही समयअघि बन्दीप्रत्यक्षीकरणको रिटमा कारागार पठाउने उच्चको आदेश सर्वोच्च अदालतले सदर गरेपछि उनी थुनामै रहेका छन्।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
रूपन्देही जिल्ला अदालतको २०८१ माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। सर्वोच्च अदालतले उच्चको आदेश सदर गरेपछि उनी अहिले कारागारमै छन्। थाहा खबर
