दाङमा सुन चोर्ने ५ किशोरकिशोरीसहित ६ जना पक्राउ

सेयर गर्नुहोस

दाङ ।

राप्ती गाउँपालिकामा भएको चोरी घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीमा संलग्न १४ वर्षका चार किशोरी र १६ वर्षका एक किशोर छन् । चोरीको सामान किन्ने एक सुन पसलका सञ्चालकसमेत पक्राउ परेका छन् ।
गत फागुन २३ गते राप्ती गाउँपालिका-७, बडका सिसहनियाकी तारा गौतमको घरबाट करिब २० तोलाको काँचो सुन र सुनका गहनाका साथै एउटा ल्यापटप चोरी भएको थियो।

गौतम आफ्नो घरमा ताला लगाएर छोराछोरीसहित लमहीस्थित नयाँ घरमा सर्न गएका बेला उक्त चोरी भएको थियो । फागुन २४ गते बिहान घर फर्कंदा तल्लो तलाको ढोकाको ताला तोडिएको अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न पाँच जना किशोर किशोरीलाई जेठ ११ गते नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि सोधपुछ गर्दा चोरी गरिएका सुनचाँदीका गहना बलेटक्सार गाउँपालिका-४, गुल्मी घर भई हाल गढवा गाउँपालिका–७ बस्ने राहुल सुनचाँदी पसल लमहीका सञ्चालक देवबहादुर विश्वकर्माले किनेको खुलेको थियो ।
राहुल सुनचाँदी पसलमा खानतलासी गर्दा चोरी भएका गहनामध्ये केही सामानसहित विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कविराज रोकायले बताए । वैखरी

Facebook Comments Box