लुम्बिनी प्रदेशका मन्त्री थापाद्वारा रनगाई खानेपानी आयोजना उद्घाटन
वैखरी
कपिलवस्तु, जेठ १२ –
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा रोजले सबै नागरिकलाई सफा र स्वच्छ खानेपानीको पहुँच पु¥याउने सरकारको प्राथमिकता रहेको बताएका छन्।
सोमबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित रनगाईमा निर्माण सम्पन्न खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, “खानेपानी हरेक नागरिकको मौलिक हक हो। कुनै पनि नागरिक यसको पहुँचबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको स्पष्ट नीति हो।”
उहाँले उपभोक्ताको सक्रियता, डिभिजन खानेपानी कार्यालय, स्थानीय तह र प्रदेश सरकारको समन्वयबाट आयोजना सफल भएको जनाउँदै यस्ता आयोजनाहरू लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा क्रमशः विस्तार हुने जानकारी दिए।
झण्डै पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको रनगाई खानेपानी आयोजनाबाट ३२७ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।
कार्यक्रमको अध्यक्षता धुनीराज भण्डारीले गरेका थिए भने उपाध्यक्ष पिताम्बर पाण्डेले स्वागत मन्तव्य राखेका थिए। सचिव सन्तराम थारुले सञ्चालन गरेको कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष गोविन्द आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
