विजयनगरमा पाेषण लेखाजोखा अभियान सुरु
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १२ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पाेषण लेखाजोखा अभियान सुरु भएको छ । सबल बालिका, सबल समुदाय परियोजना अन्तर्गत गाउँपालिकामा पाेषण लेखाजोखा अभियान सञ्चालन भएको छ । पाँच वर्षभन्दा मुनिका बालबालिकाकाे पाेषण लेखाजोखा अभियान सुरु गरिएको हाे । साेमबार ५ नम्बर वडाकाे जाेगिनियाबाट पाेषण लेखाजोखा अभियानकाे सुरुवात गरिएको छ ।
यस वडामा आजदेखि ५ दिनसम्म पाेषण लेखाजोखा अभियान सञ्चालन हुनेछ । वडा कार्यालयकाे आयाेजना र प्लान इन्टरनेशनल र किड्स नेपालकाे साझेदारीमा पाेषण लेखाजोखा अभियान सुरु गरिएको परियाेजना संयाेजक असगर धुनियाले जानकारी दिए । गाउँपालिकाकाे वडा नम्बर ३, ५ र ६ मा याे अभियान कार्यक्रम सञ्चालन हुने उनले बताए ।
सहभागी गराइएका पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्थिति पत्ता लगाइने छ । बालबालिकाको पाखुराको जाँचका साथै उचाई र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरेर अभिभावकलाई पाेषण सम्बन्धी सल्लाह, सुझावसहित चेतनामुलक कार्यक्रमकाे आयाेजना गरिने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमानले बालबालिकालाई पर्याप्त पौष्टिक खानपान, हेरचाह, सन्तुलित खाना, सरसफाई, सुरक्षित खानेपानीमा अभिभावकलाई ध्यान पुर्याउनुुपर्नेमा जाेड दिए । उनले जनचेतनाकाे कमीले बालबालिकामा बढी कुपोषण भएको बताए ।
यस पाेेषण लेखाजोखा अभियानमा अनिवार्य रुपमा पाेषणकाे स्थिति पत्ता लगाउन बालबालिकालाई सहभागी गराउन उनलेे आग्रहसमेत गरे । स्थानीय तहमा पाेषणका कार्यक्रमलाई सामाजिक सुरक्षा तथा गरिबी निवारण कार्यक्रमसँग जाेडेर कार्यान्वयन गर्न आवश्यक देखिएको उनको भनाइ छ ।
