सुरक्षाको नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै व्यापारीद्वारा बजार बन्द
किरणमान बज्राचार्य
कपिलवस्तु
सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले व्यापारीलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिएको भन्दै कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा सोमबार सीमवर्ती बजार कृष्णनगर र बहादुरगञ्ज बन्द गरिएको छ । सशस्त्र प्रहरी र ट्राफिकले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई चेकजाँच र प्रतिशोधको नाममा दुःख दिएको संघका अध्यक्ष रितेश शर्माले बताए ।
त्यसैको विरोधमा बजार बन्द गरेको उनले बताए । संघको आवहनपछि कृष्णनगर बहादुरगञ्ज बजार पूर्णरुपमा बन्द छ । निजी र भाडाका सवारी चलेका छैनन् । बजार बन्द हुँदा सीमावर्ती बजार कृष्णनगर सुनसान छ । जेठ ९ गतेदेखि नै कृषकले मलखाद, बिहेबारीका सामान र खुद्रे व्यवसायीले मालसामान ल्याउँदा सशस्त्र प्रहरीले जाँचका बहानामा पक्राउ गर्दै भन्सार बुझाएर अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर विरोधमा उत्रनुपरेको अध्यक्ष शर्माले बताए ।
सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको कार्यशैलीको विरोधमा व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको जनता समाजवादी पार्टी कृष्णनगर नगर कमिटीका अध्यक्ष जगदीश चौधरीले बताए । गत जेठ ९ गते बहादुरगञ्जमा तस्करीको आशंकामा ३२ बोरा युरिया मल सशस्त्र प्रहरीले छापा मारेर बरामद गरेका थियो ।
त्यसैको अहिले विरोध भइरहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र उपरीक्षक नेत्र केसीले बताए । उक्त युरिया मल सशस्त्रकै गाडीबाट स्थानीयले खोसेर लगेका थिए । आइतबार जिल्लाका सात राजनीतिक दलले बहादुरगञ्जमा कृषकहरुले ल्याएको मल पक्राउ गरेको भन्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ध्यानाकर्षण गराएका थिए ।
भारतबाट कृषकहरुले ल्याउने मल, बिहेबारीको सरसामान ल्याउदा सशस्त्र प्रहरी र प्रहरीले पक्राउ गरी भन्सार बुझाएर अनावश्यक दुःख दिने गरेको उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन ।
