‘जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

सेयर गर्नुहोस

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत् क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्ने बताएका छन्।

बजेटमा निजी क्षेत्रको अपेक्षाबारे कुराकानी गर्दै उनले जलविद्युत्‌ क्षेत्रले नै यो मुलुकलाई समृद्धिको दिशामा डोर्‍याउन सक्ने भएकाले बजेट छरेर नल्याउन आग्रह गरेका हुन्। उनका अनुसार मन्त्रिपरिषद्‌बाट २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना स्वीकृत भएर कार्यान्वयनमा गइसकेकाले बजेट तदनुसार आउनुको विकल्प छैन।

वरिष्ठ उपाध्यक्ष डाँगीले भने‚ ‘देशलाई समृद्ध बनाउनसक्ने तीन क्षेत्रमध्ये पहिलो जलविद्युत्, दोस्रो कृषि तेस्रो पर्यटन हुन्। कृषि दोस्रो हुनुको कारण हाम्रा दाजुभाइ धेरै विदेश पलायन भएका कारण धेरै जग्गा बाँझो हुन थालेका छन्। मान्छे धेरै विदेश गएर रेमिट्यान्सले देश चल्नुपर्ने अवस्था छ। त्यसैले तत्कालका लागि जलविद्युत् क्षेत्रले देशलाई समृद्धिको बाटोमा लैजानसक्छ।’

उनले जलविद्युत् क्षेत्रमा नेपाल सरकारले निजी क्षेत्रलाई प्रवेश गराएर पछुतो मानेजस्तो नलाग्ने बताए। डाँगीका अनुसार अहिले जलविद्युत् क्षेत्रले भोग्नुपरेको सबैभन्दा ठूलो व्यवधान भनेको २०२९ सालमा बनेको वन ऐनमा अहिले पनि चल्नुपरेको छ। वनले विकास निर्माणका कार्य अप्ठ्यारो पारिरहेको छ।

विद्युत् ऐन २०४९ ले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराएको हो। विद्युत् उत्पादन गर्ने क्षमता बढ्दै गएकाले जलविद्युत् क्षेत्रमा त्यो क्षमता प्रयोगमा ल्याउन सरकारले सहजीकरण गरिदिनुपर्ने उनले बताए। थाहा खबर

Facebook Comments Box