कपिलवस्तुमा भारतीय नोटसहित एक पक्राउ , अवैध समान बरामद

सेयर गर्नुहोस

कपिलवस्तु, जेठ १० । जिल्लाकाे कृष्णनगर क्षेत्रभित्र विभिन्न स्थानहरूमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूबाट करिब १० लाख रुपैयाँ बराबरको नगद र सामान बरामद गरिएको छ।
नेपाल प्रहरीको सक्रिय अनुगमन र कारबाहीको क्रममा तीन फरक स्थानबाट उल्लेख्य मात्रामा अवैध सामग्री र भारतीय नाेटसहित नगद बरामद गरिएको हो ।

शुक्रबार कृष्णनगर नगरपालिका, ३ मा शंकास्पद रूपमा पैदल हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले रोकेर खानतलासी गर्दा झोलाभित्र लुकाइएको अवस्थामा भारतीय नोट ५०० दरका १० गड्डी, अर्थात् भारतीय रुपैयाँ ५ लाख नेपाली रुपैयाँ ८ लाख फेला पारेका छन् ।

नगद सहित पक्राउ पर्ने ब्यक्ति ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–१०, रानीवनका ४३ बर्षिय राम कुमार तोलाङ्गी रहेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौंडारीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल, रुपन्देही पठाइएको छ।

त्यसैगरी, सोही दिन कृष्णनगर नगरपालिका–०६, भिल्मी चोकबाट चोरी निकासी तथा पैठारी गरिएको करिब १३,५०० रुपैयाँ बराबरको १५० केजी चिनी समेत बरामद गरिएको प्रहरी निरीक्षक लौंडारीले जनाए ।

यस्तै, सोहि दिन महाराजगंज नगरपालिका–०९, कुसहवा बढनीबाट २ थान मोटरसाइकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउँदो बोइलर कुखुरा, र १९ प्याकेट पार्लेजी बिस्कुट समेत प्रहरीले बरामद गरेको छ। यी सामानहरूको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको बताइएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार र आर्थिक अपराध रोक्न सतर्कता बढाएको जनाएको छ। साथै, नागरिकहरुलाई यस्ता गतिविधिबाट टाढा रहन र शंकास्पद क्रियाकलाप देखेमा प्रहरीलाई सूचना दिन आग्रह गरिएको छ।

Facebook Comments Box