रासायनिक विषादीको ‘कक्टेल’ : खान अयोग्य बनाइँदैछ तरकारीअधिकारी भन्छन् : किसानको ध्यान उत्पादन बढाउनेतिर मात्र गयो

सेयर गर्नुहोस

काठमाडौं : केही दिनअघि कालीमाटी फलफूल तथा तरकारी बजार काभ्रेबाट भित्रिएको हरियो धनियाँमा विषादी भेटियो। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा ९९.३७९ प्रतिशत रोकावट अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो।

त्यसअघि धरानको कृषि उपज बजारमा मकवानपुरको पालुङबाट लगिएका २४ सय केजी काउलीमा अत्यधिक मात्रामा विषादी पाइएपछि नष्ट गरियो।

यसैगरी, सर्लाहीमा उत्पादित बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा रहेको पुष्टि भएको थियो। कालिमाटीमा सर्लाहीबाटै ल्याइएको गोलभेडामा पनि अत्यधिक विषादी भेटिएको थियो।

यसरी पछिल्लो समय तरकारी, फलफूल तथा अन्न बालीमा बढ्दो विषादीको प्रयोग झल्काउने गरी निरन्तररूपमा खानाका लागि अयोग्य मात्रामा विषादी भेटिएका छन्। यसले उपभोक्ताको स्वास्थ्यमा जोखिमसँगै खाद्य सुरक्षा संकट निम्तिन सक्ने भन्दै विज्ञ चिन्ता व्यक्त गर्छन्।

कक्टेल विषादीको ट्रेन्ड

बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ। यो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ।

केन्द्रीय कृषि प्रयोगशालाले विषादी अवशेष दुरुपयोग विश्लेषण प्रविधिबाट काठमाडौंको कालिमाटी, सुदुरपश्चिममा धनगढीको अत्तरिया, बाँकेको नेपालगञ्ज, सुर्खेत, बुटवल, नवलपरासीको कावासोती, पोखरा, सिन्धुली, ढल्के, सर्लाही, धरान र झापामा तरकारी तथा फलफूलको परीक्षण गर्दै आएको छ।

प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत द्रोणबहादुर बुढाथोकी, धनियाँ, साग लगायतका तरकारीहरूमा विषादी भेटिएका बताउँछन्। किसानले विभिन्न खालका कडा विषादीहरू प्रयोग गरिरहेका उनले बताए। त्यसमा पनि कक्टेल विषादी प्रयोगको बढ्दो ट्रेन्ड अर्को समस्याका रूपमा रहेको छ। ‘किसानले एउटा विषादीले काम नगरेपछि दुईवटा मिसाएर ‘कक्टेल’ बनाएर छर्ने गर्छन् उनले भने, ‘नरम, सामान्य खालका छाडेर कडा विषादी हाल्ने गर्छन्।’

विषादीको वेटिङ पिरियड (विषादी छर्केपछि कुर्नुपर्ने अवधि) पालना गरे त्यसको असर कम हुने बताइन्छ। विभिन्न खालका सचेतना कार्यक्रममार्फत किसानलाई विषादीको प्रयोग कम गर्न, सन्तुलित र नरम खालका प्रयोग गर्न भन्ने गरिए पनि केहीले थाहा पाएर पनि र केहीले नजानेर जथाभावी छर्ने गरेका बुढाथोकीले बताए।

‘विषादी छरिसकेपछि कम्तीमा एक हप्तादेखि १० दिन रोक्नुस् भनिरहेका छौँ। तर किसानले बिहान विषादी छर्ने, दिउँसो बजारमा ल्याइहाल्ने गर्छन्’, उनले भने ‘धेरैले असर थाहा पाएर पनि बेवास्ता गर्दै त केहीले नजानेर असन्तुलित मात्रामा विषादी हाल्छन्।’

धेरै फलाउने, राम्रो देखाउने होड

विषादीलाई किसानले औषधीकै रूपमा प्रयोग गर्ने गरेका छन्। ‘हरेक वर्ष, हरेक सिजनमा विषादी छर्ने नियमित अभ्यास र रूटिन भइसकेको छ, वरिष्ठ बाली संरक्षण अधिकृत बुढाथोकी भन्छन्, ‘उत्पादन बढाउनेतर्फ मात्र किसानको ध्यान केन्द्रित भएको देखिन्छ।’

रोग-किराबाट जोगाएर धेरै फलाउने र उपभोक्तालाई आकर्षक देखाउने ध्याउन्नमा किसानले विषादीको प्रयोग घटाउन नचाहेको पाइएको छ। व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकाससँगै विगत केही वर्षयता तरकारीको उत्पादन उल्लेखनीय मात्रामा बढेको छ। ताजा तरकारीको माग पनि बढ्दो छ।

‘जो व्यावसायिक किसान छन्, उनीहरू कसरी पैसा बनाउने भन्नेमा केन्द्रित छन्’, उनले भने, ‘हामीलाई पनि रोग लागेको, किरा परेको भन्दा पनि हेर्दा चिल्लो, सर्लक्क परेका तरकारी-फलफूल चाहिन्छ। किसानहरू पनि त्यही अनुसार उत्पादन ल्याउनुहुन्छ।’

देशभरका झण्डै ३ लाख हेक्टर भन्दा बढी क्षेत्रमा ४० लाख टनभन्दा बढी ताजा तरकारी उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाउँछ। किसानले विशेषगरी बाली लगाउनुअघि भन्दा पनि लगाइसके पछि, रोग किराबाट फल जोगाउन विषादी हाल्ने गरेका छन्। फलिसकेपछि टिपेर बजार ल्याउनुअघि विषादी हालेको भेटिएको छैन तर स्टोर गरेर राख्दा जोगाउन प्रयोग गरिएका हुनसक्ने बाली संरक्षण अधिकृत बुढाथोकीले बताए।

विषादीको दुरुपयोग रोक्न के गरिँदैछ?

किसानले विषादी छर्दा, यसले शत्रु जीवमात्र नभई मित्र जीव पनि नष्ट गर्छ। शत्रु जीव नष्ट हुँदै गएपछि रोग किराको प्रकोप झन् बढ्दै जान्छ। जति रोग किराको प्रकोप बढ्छ, त्यति नै विषादी प्रयोग पनि बढ्छ।

जति विषादी छर्‍यो, त्यति त्यसको असर बढ्दै जान्छ। सकेसम्म विषादी नछर्न र छर्नै परे प्राविधिकलाई भेटेर जानकारी लिन उनले सुझाव दिए। ‘तर किसान प्राविधिकलाई भेट्ने भन्दा एग्रोभेटको भर पर्ने गरेका छन्। सिफारिस मात्रा कति हो थाहा छैन, डेट एक्सपाएर भएका पनि छरेका छन्। सिफारिस गरिएको भन्दा बढी मात्रामा पनि प्रयोग गरेका छन्।यसले त असर गर्ने नै भयो’, वरिष्ठ बाली संरक्षण अधिकृत बुढाथोकीले थपे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै किसिमका फलफूल तथा तरकारी बालीबिरुवामा विषादी छर्कदा विशेष सावधानी अपनाउन अनुरोध गर्दै आएको जनाएको छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशी विषादीको दुरुपयोग र अत्यधिक प्रयोग रोक्न, उत्पादन स्थलमा सचेतनाका कार्यक्रम गरिरहेको बताउँछन्।

यस्तैगरी कालिमाटी र प्रमुख नाकाहरू, सीमा नाकामा चेकजाँच गर्नुका साथै व्यापारी, किसान, उपभोक्ता सबैलाई विषादीको असरबारे सचेतना फैलाउने गरिएको मन्त्रालयका सूचना अधिकारी समेत रहेका विज्ञ जोशीले बताए।

‘प्राङ्गारिक कृषि र जैविक कृषिलाई बढी प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाउने सोचिरहेका छौँ’, उनले भने, ‘रोग किराको प्रकोप बढी भयो र आवश्यक नै पर्‍यो भने छर्नुपर्ने हुन्छ, होइन भने जैविक तरिकाबाट पनि रोग किरा नियन्त्रण गर्न सक्छौँ भनेर किसानले बुझ्नुपर्छ।’

विकल्पमा जैविक विषादी

विषादीको प्रयोगले दीर्घकालमा माटो, बिरुवा र मानव स्वास्थ्यमा पनि असर गर्ने कुरा किसान, उपभोक्ता सबैले बुझ्न जरुरी रहेको उनले बताए। मन्त्रालयले प्राङ्गारिक कृषि भनेर त्यहीभित्र जैविक खालको विषादी प्रयोगलाई बढावा दिने जनाएको छ। विशेषगरी हाम्रा गाउँ खेतमा भएका विभिन्न खालका जडिबुटी मिसाएर हाल्दा रोकावट विषादीको प्रयोग घट्ने उनी बताउँछन्।

त्यसो त, व्यवसायिकरूपमा भाइरस, ढुसी र ब्याक्टेरियाजन्य १५ प्रकारका जैविक विषादी पञ्जीकरण भई बजारमा उपलब्ध हुँदा पनि तिनको प्रभावकारी प्रयोग हुन सकेको छैन। तरकारीका नयाँ पकेट क्षेत्रमा रासायनिक विषादीको प्रयोग बढिरहेको छ।

सचेतना फैलाउनुका साथै सीमानाका र प्रमुख संघीय बजारहरूमा नियमितरट्ठपमा तरकारी, फलफूल लगायतका कृषि उपजको जाँच गर्ने कार्यक्रम रहेको बताए।‘आगामी आर्थिक वर्षमा यसलाई थप प्राथमिकता र अभियानका रूपमा नै अगाडि बढाउने सोचमा छौँ’, उनले थपे।

विषादी भएको तरकारी खाँदा के हुन्छ ?

जानकारहरूका अनुसार, विषादी युक्त तरकारी खाँदा थाकेको महसुस हुने, टाउको दुख्ने, स्वाँ-स्वाँ हुने, रिँगटा लाग्ने लक्षण देखिन सक्छ। यस्तैगरी केहीलाई बान्ता हुने, छाती दुख्ने, गाह्रो हुने, वाकवाक आउने, पेट दुख्ने, दिसा-पखाला लाग्नेदेखि मूर्च्छा पर्ने समस्या पर्न सक्छ। ट्यूमर, क्यान्सर, मुटुसम्बन्धी रोग, प्रजनन क्षमतामा ह्रास वा बाँझोपन र मानसिक असन्तुलन लगायतका दीर्घकालीन असर पनि देखिन सक्छ।

तथ्यांकमा विषादी

नेपालमा खपत हुने विषादीको झण्डै ८० प्रतिशत तरकारीमा प्रयोग हुने र सबैभन्दा धेरै बागमती र मधेश प्रदेशमा प्रयोग हुने गरेको अनुगमनका क्रममा पाइएको छ। पञ्जीकृत विषादीमात्र आयात, निर्यात, उत्पादन, बेचबिखन र प्रयोगमा कारोबार गर्न पाइन्छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादीको आयात बर्सेनी बढिरहेको छ। सन् २०१३/१४ मा वर्षभर ४ लाख ५४ हजार ५९५ (एआई) केजी विषादी आयात गरिएकोमा २०२२/२३ मा यो मात्रा ११ लाख ८३ हजार ७४१ केजी पुग्यो।

नेपालमा आयात गरिएको र संश्लेषण गरिएको विषादीको तथ्यांकले २०७९/०८० मा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार बढीको ११ लाख ८३ हजार ७४१ ए.आई. केजी र कुल परिमाण ३ लाख ४० हजार ३४ लाख २ हजार ६ केजी छ। थाहा खबर

Facebook Comments Box