सीमामा स्वागत होइन, चिया खर्चको माग !
सुशील गैरे
कपिलवस्तु । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू घर फर्किँदा देशको माटो टेक्नुअघि नै ‘चिया खर्च’ को नाममा अपमानित हुन बाध्य छन्। सीमामा बसेका सुरक्षाकर्मीहरूले ‘जाँच’को बहानामा पैसा असुल्ने चलन फेरिए पनि, समस्याको जरा अझै उस्तै गहिरो छ।
कपिलवस्तुको सबैभन्दा ठुलो नाका कृष्णनगर नाका भएर दैनिक सयौँ नेपाली भारतबाट फर्किन्छन्, त्यही नाकामा अवैध असुलीको तरिका फेरिएको छ। लिङ्ग गेट प्रहरी चौकी अन्तर्गत पर्ने यो नाकामा सुरक्षाकर्मीहरूले ‘प्रतिबन्धित सामान छ कि छैन’ भन्ने जाँचको नाममा पैसा असुल्ने गरेको पीडितहरूले बताएका छन्।
पर्वत घर बताउने सारू कान्छा (नाम परिवर्तन) पञ्जाबबाट महिनौँको श्रम बोकेर घर फर्किँदै थिए। घर फर्किँदै गरेका उनीसँग थिए आफैँले लगाएका केही पुराना लुगा, छोराछोरीलाई ल्याइएको मिठाई। तर ती सामान देखाउनु नपर्ने भन्दै सुरक्षाकर्मीहरूले उनैसँग “चिया खर्च” मागे। उनले जब पैसा दिन मानेनन्, अनेक प्रश्नहरू गरी हैरान पारियो।
“चिया खर्च मागे, नदिँदासम्म बारम्बार अनिकौ प्रश्न सोधिरहे ” मैले केही ल्याएकै छैन मेरो झोला हेर्नुस् भन्दा पनि त्यो देखाउनु पर्दैन चिया खर्च दिनुस् जानुस् भने, उनले गुनासो गरे। “जसोतसो छिर्न पाएँ, तर प्रहरीको त्यो व्यवहारले आत्मसम्मानमा चोट पुग्यो।”
सारू कान्छा त प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्तै सयौँ नेपाली जो देश फर्किन्छन्। घर फर्कँदा २ किलो नुन, तेल, चिनी ल्याउने सँग पनि प्रहरीले चिया खर्चको नाममा घुस माग्न भने छाड्दैन। कृष्णनगर लिङ्ग गेट प्रहरी चौकीको इन्चार्ज सई पोमप्रसाद भुसाल हुन्। उनीकै कमान्डमा हुने चेकजाँचको क्रममा यस्ता अवैध असुली नियमित भइरहेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्।
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेट भएका सवारीहरू, साथै स्वदेश फर्किने नेपाली श्रमिकहरू सबै जना यस्ता असुलीको सिकार बन्न बाध्य छन्।
स्थानीय समाज सेविका अनुसार सीमामै आम नागरिक सँग चिया खर्च माग्ने प्रहरीले कस्तो सुरक्षा देलान् भन्ने प्रश्न समेत यति बेला उठ्ने गरेको बताए । सई भुसाल आफूले माथिकै आदेश अनुसार काम गरेको बताए। उनले पहिलेका साथीहरूले जसरी गर्नुभएको थियो त्यसै गरी नै मैले पनि गरेको छु त्यस्तो त केही नभएको बताए।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले यस्तो आचरण भएका प्रहरीलाई विभागीय कारबाही हुने बताउँदै प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिनसमेत आग्रह गरे। उनले यस्ता खालका सूचना समय समयमा आउने गरेको बताउँदै निगरानी बढाएको दाबी समेत गरे।
