विश्वको ध्यानाकर्षण गर्न सगरमाथा संवाद : प्रधानमन्त्री

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्त्वबारे विश्वको गम्भीर ध्यानाकर्षण गर्न सगरमाथा संवादको आयोजना हुन लागेको बताएका छन्।

सगरमाथा संवादको पूर्वसन्ध्यामा बिहीबार नेपाली उच्च पदाधिकारीका लागि आफूद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब भए विनाशमा पुगिने भएकाले यसमा संसारको ध्यान पुग्न जरुरी रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीलगायत सहभागी थिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’ मार्फत सम्बोधन गर्ने बताएका छन्।।

थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको बताए। ‘सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतासाथ उठाउँछु’, प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनको आयोजक संस्था ‘साथसाथै फाउण्डेशन’ले तयार पारेको प्रतिवेदन बुझ्दै उनले भने।

नेपाल सरकारले पहिलोपटक जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ। थाहा खबर

Facebook Comments Box