सुदनको आशंका – विद्युत् प्राधिकरणलाई कौडीको भाउमा बेच्ने प्रपञ्च भइरहेको त छैन ?
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले नेपाल विद्युत् प्राधिकरणमा कमजोर व्यवस्थापनको परिणाम देखिन थालेको बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन्।
आफू केही समयअघि पूर्वी नेपालको विभिन्न भागमा पुग्दा अधिकांश ठाउँमा बत्ती गएको देखेको पनि उनले सुनाए। जनतामा पनि कुलमान घिसिङको बर्खास्तीपछि बत्ती जान थालेको भनेर व्यापक असन्तुष्टि रहेको उनले बताए।
के यो अघोषित लोडसेडिङ हो भन्दै प्रश्न पनि उनले गरे। ‘म भर्खरै पूर्वी नेपालको विभिन्न भागमा पुगेको थिएँ, अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,’ उनले भने,‘के यो अघोषित लोडसेडिङ हो ? यो प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम हो ? कुलमान हुँदा नाफामा रहेको प्राधिकरण, नयाँ एमडीद्वारा प्रस्तुत श्वेत पत्र अनुसार एकाएक संकट ग्रस्त कसरी देखियो ?’
पूर्वमन्त्रीसमेत रहेका किरातीले प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च भइरहेको आशंका गरे। ‘यसबाट हामीले के बुझ्ने ? के यो प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ? आकासमा चिल आयो चिल आयो भनेर धर्तीमा कुखुरा चोर्ने धुर्त स्यालको कथाको सुत्रले अव जनता नझुक्किने कुरा बुझ्न सरकारलाई अनुरोध गर्दछु, प्रकारन्तरले त्यस्तो हुन गए देशको निम्ति दुर्भाग्य हुनेछ, त्यो बाटोमा नजान सरकारलाई गम्भीर रुपले सचेत गराउँदछु।’ थाहा खबर
