खोटाङ डिकुवाका आगलागी पीडितलाई २ लाख १६ हजार सहयोग
काठमाडौं : खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा-२ डिकुवाका आगलागी पीडितका लागि २ लाख १६ हजार ८५ रूपैयाँ रकम उठेको छ। गत चैत ३ गते डिकुवाअन्तरर्गत लाङमा, डाँडागाउँ, बाल्चोङ, पाँचभैयाटार र छोम्पाङ गाउँमा जंगलमा फैलिएको डढेलोले बस्तीमा पसेपछि ९ घर, मतान, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो।
एक घरमा आंशिक क्षति पुगेको थियो। आगलागीबाट सम्बर राई, नगेन्द्र राई, अदमे राई, रणबहादुर राई, पबिन्द्र राई, हिराधन राई, छोटा राई, कृष्णबहादुर राई, चयन राई र बलराम राई तथा परिवार पीडित बनेका छन्।
पीडितहरूलाई आर्थिक सहयोगका निम्ति वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिले आगलागि पीडितका लागि आर्थिक सहयोग उपसमिति गठन गरेको थियो। देश–विदेशबाट उक्त रकम उठाइएको आगलागी पीडित सहयोग उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य पचुराम राईले जानकारी दिए।
उनका अनुसार सो रकम हिलेपानी सेवा समाज दक्षिण कोरियाबाट ८४ हजार २ सय रूपैयाँ, उदयपुरे समूह दक्षिण कोरियाबाट २१ हजार १२३ रूपैयाँ, बाइसीटार समूह दक्षिण कोरियाबाट १८ हजार रूपैयाँ, वामद्याल समूह दक्षिण कोरियाबाट १३ हजार २०२ रूपैयाँ प्राप्त भएको छ। त्यसैगरी विभिन्न व्यक्तिसहित ४३ जनाबाट चन्दा उठाइएको संयोजक राईले जानकारी दिए।
सहयोग उपसमितिले हिजो शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ शिवटोल इमाडोलस्थित कार्यालयमा बसेको संक्षिप्त बैठकमा वाम्रास अध्यक्ष गजुरधन राईले संस्थाको अनुरोधअनुसार सहयोग गर्ने स्वदेश तथा विदेशमा रहनु भएका सबै दाताहरूप्रति धन्यवाद ज्ञापन गरे।
बैठकमा उपस्थित वाम्बुले राई समाज खोटाङ जिल्ला कार्यसमितिका अध्यक्ष प्रेम सुन्दर राईलाई उठाइएको रकम हस्तान्तरण गरिएको थियो। खोटाङका पीडित परिवारलाई आगामी जेठ ४ गते उक्त सहयोग प्रदान गरिने प्रेम सुन्दर राईले जानकारी दिए। थाहा खबर
