विपद् जाेखिम न्यूनीकरणका लागि के छ सरकारको तयारी ?यी क्षेत्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रस्ताव
श्याम राई
काठमाडौँ : वर्षेनि मनसुनको समयमा विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको छ। जसका कारण सरकारले पर्याप्त तयारी गरी न्यूनीकरण गर्न नसकेको आरोप लाग्दै आएको छ। यो वर्षको मनसुन पनि सुरु हुन लागेको छ। त्यसो त विपद्बाट कसरी सर्वसाधारण बच्नुपर्ने भन्ने फेरि चुनौती थपिएको छ।
सरकारले भने यो वर्षको मनसुन विपद् न्यूनीकरण, व्यवस्थापनका लागि आवश्यक योजना बनाई काम थालिसकेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता रामबहादुर केसीका अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ को मस्यौदा बनाइएको छ। आवश्यक थप प्रक्रिया पूरा गरी सार्वजनिक गर्ने उनले जानकारी दिए।
‘यो सालको मनसुन पूर्वानुमानका आधारमा विपद्को जोखिम आँकलन, सम्भावित जोखिम पूर्वानुमान गर्न’‚ उनले भने, ‘मनसुनजन्य विपद्बाट सर्वसाधारणको जीउज्यान, सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा भौतिक संरचनाको संरक्षण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने गरी हामी लागेका छौँ।यसैका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना नै बनाएका छौँ।’
उनका अनुसार उक्त योजनामा संघ, प्रदेश, स्थानीय तह, जिल्ला, मिडिया र गैरसरकारी संस्थाले गर्नुपर्ने काम र जिम्मेवारी समेटिएका छन्। उक्त कार्ययोजना मनसुन समय तोकिएपछि सार्वजनिक गर्ने उनको भनाइ छ। उनका अनुसार यतिखेर जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान समेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई अन्तिम रूप दिने काम भइरहेको छ।
यसबाहेक उनले सबै ठाउँमा छलफल र संवादसँगै आवश्यक पूर्व तयारी गरिरहेको बताए। उनले भने, ‘हामीले सबै ठाउँको विपद् जिल्ला सुरक्षालाई तयारी बनाएका छौँ‚ कमाण्ड पोष्ट’को स्थापना हुनेछ, सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ। आवश्यक जनशक्ति व्यवस्था गरी तालिम, सचेतना दिइरहेका छौँ, आवश्यक उपकरणहरूको व्यवस्था गरी तयारी अवस्थामा रहन भनेका छौँ।’
यी क्षेत्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रस्ताव
गत आइतबार कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक बसेको थियो।
उक्त बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११,१२ र १३ को बस्ती विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८,९ र १० का बस्तीलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ ९१० बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
विपद्बाट ५४२ जनाको गयो ज्यान
विपद्बाट अकालमै नागरिकहरूको ज्यान जाने गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ मा मनसुनलगायत सबै गरी पहिरोमा ३५१, बाढीबाट ९७, भारी वर्षाबाट ८, चट्याङबाट ७९ र हावाहुरीबाट ७ जना गरी विपदबाट कुल ५४२ जनाको ज्यान गएको छ।
२०८१ साउन १ गतेदेखि चैत मसान्तसम्म पहिरोबाट २८९ जना, बाढीबाट ६६ जना,भारी वर्षाबाट ७ र चट्याङबाट ४२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए।
गत वर्ष ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ले मनसुनबाट सबै प्रदेशका ८० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरेको थियो।
