‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न सरकारले पहल बढाउनुपर्यो’
काठमाडौं : प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्ने बताएका छन्।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विमानस्थललाई नियमित सञ्चालन गराउनको लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले विमानस्थल सञ्चालनको लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए। उनले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गरे।
उनले व्यवसायीहरूले विमानस्थल नचल्दा मर्कामा परेकोले उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेकोले त्यसको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गरे। थाहा खबर
