नारायणी अस्पतालको भवन निर्माणमा भ्रष्टाचारप्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ : नारायणी अस्पताल, वीरगञ्ज पर्साको आकस्मिक कक्ष भवन निर्माणको ठेक्काका भ्रष्टाचार गरेको आरोपमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर, नायब सुब्बा सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
यस्तैगरी शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरीसँगै मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।
अख्तियारले उनीहरूमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७।०७८ मा नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत गैरकानुनी हानि नोक्सानी पुर्याएको पुष्टि भएको उल्लेख गरेको छ ।
आपसी मिलेमतोमा सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गराई नारायणी अस्पताललाई १ करोड ८४ लाख ३८ हजार रुपैयाँ बढी हानि पुर्याएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले ठाकुर, साह, अन्सारी, यादव र माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ ररुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय माग गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । थाहा खबर
