लुम्बिनी वन मन्त्रालयका अधिकृतले कुटे चालक : कारबाहीको माग
बुटवल । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका आठौं तहका एक अधिकृतले मदिरा सेवन गरी मन्त्रालय अन्तर्गतकै सवारी चालकलाई अभद्र व्यवहार र हातपात गरेपछि कारबाहीको माग गरिएको छ ।
मन्त्रालयले भालुवाङको होटेल पौवामा वैशाख १६ गते साँझ आयोजना गरेको खानपान कार्यक्रममा अधिकृत दुर्गाप्रसाद खत्रीले वन कार्यालय बांकेका हलुका सवारी चालक कर्णबहादुर गुरुङमाथि विना कारण दुर्व्यवहार र हातपात गरेका हुन् ।
अधिकृत खत्रीले अत्यधिक ‘मदिरा सेवन गरी आफूलाई सरुवा गरिदिन्छु’ भन्दै विवाद झिकेर अपशब्द बोल्दै हातपातमा उत्रिएको चालक गुरुङले बताए । आफूमाथि हातपात गर्ने मुख्य व्यक्ति खत्री भए पनि मन्त्रालयकै स्टोर शाखाका प्रमुख अधिकृत (छैटौं) तारा शर्माले खत्रीलाई साथ दिएको गुरुङले बताए ।
हातपात भएपछि गुरुङसहित मन्त्रालय अन्तर्गका कार्यालयका २० जना चालक र नेपाल निजामति कर्मचारी युनियनले हातपातमा संलग्न अधिकृत खत्री र शर्मामाथि कारबाहीको माग गर्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएका छन् । वैखरी
