नारी दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
शारदा के.सी कपिलवस्तु फागुन २३
१११ औँ अन्तराष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको सदरमुकाम तौलिहवामा महिलाको सुरक्षा, सम्मान र रोजगारः संमृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कपिलवस्तु नगरपालिकको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना, जिल्लाका १० वटै स्थानीय तहको सहआयोजना तथा यु एन एफ पी ए, माहुरीहोम कपिलबस्तु, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, जवाफदेही निगरानी समिती, कालिका स्वावलम्बन सामाजिक बिकास केन्द, लिडो नेपाल, सिद्धार्थ सामाजिक बिकास केन्द्र, दलित सामाजिक बिकास केन्द्र, समर्पण सहयोग समूह, साथी संस्था, सनसाइन सामाजिक विकास संस्थालगायत डेढ दर्जन बढी संघ संस्थाहरुको समन्वय रहेको थियो ।
अन्तक्रिया कार्यक्रममा १० स्थानीयतहबाट निती तथा कार्यक्रमहरु प्रस्तुत गर्नका लागि जानकारी गराएको भएता पनि ६ वटा पालिकाहहरुको मात्र कार्यक्रममा सहभागिता रहेको थियो । जसमध्ये कपिलबस्तु नगरपालिका, बाणगंगा नगरपालिका, मायादेबी गाउँपालिका, शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिका उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानीय तहबाट महिलाहरुको सुरक्षा, सम्मान र रोजगारका लागि पालिकाहरुले गरेका नितीगत र बजेटको अवस्थाबारे जानकारी गराइएको थियो । त्यस्तै महिला तथा बालबालिका शाखाहरुले शाखाले गरेका वार्षिक प्रतिबेदनसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा समग्र जिल्लाको अवस्थाको बारेमा गैसस महासंघका प्रतिनिधि शुसिला बेल्बासेले प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद रिना नेपालले नारी दिवसमा मात्रै महिला अधिकारको कुरा नगरि बर्षभरी गर्नुपर्नेमा जोड दिनु भएकाे थियाे । सबै स्थानीय तहले आ–आफ्नो तथ्यांक प्रस्तुत गर्नु संघीयता कार्यान्वयनको सफल पक्ष रहेको समेत बताउनु भएकाे छ । उहाले महिलाहरुलाई सीपमुलक तथा आयआर्जनका लागि विभिन्न तालिमहरु दिए पनि अझै पनि उनीहरुलाई आत्मनिर्भर बनाउन नसकेको भन्दै स्थानीयतहले नतिजामुखी तालिम पश्चात ब्यबसायी बनाउनु पर्ने बताउनु भयाे ।
कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीको अध्यक्षता, ६ स्थानीय तहका उपप्रमुख, महिला तथा बालबालिका शाखा प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगाएतको उपस्तिथी रहेको थियो । सो कार्यक्रममा समन्वय समितिका नासु कमला पौडेलको स्वागत मन्तब्य तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता रुकैया खातुन तथा माहुरीहोमका महासचिव माया ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
