घट्यो अण्डाको उत्पादन, बढ्यो मूल्यलागत मूल्य पाएपछि किसानलाई राहत

सेयर गर्नुहोस

काठमाडौँ : पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलका अनुसार आज (आइतवार) देखि लागू हुनेगरी अण्डाको मूल्य बढेको हो।

संघको बैठकले चितवनलाई आधार मानी न्यूनतम समर्थन मूल्य बढाउने निर्णय गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट (३० वटा) ४२५ रुपैयाँ, ठूलो अण्डा प्रति क्रेट ४०३ रुपैयाँ र मिडियम अण्डा प्रति क्रेट ३६६ रुपैयाँ रहेको छ।

चितवनबाट लोड भई देशैभरका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० रूपैयाँ थप लाग्ने सचिव पोखरेलले जानकारी दिएका छन्।

गत वर्ष प्रति क्रेट अण्डाको मूल्य ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० मा झरेको थियो। गर्मीका कारण कुखुरामा रोगहरू देखिँदा अण्डाको उत्पादन घटेको र बजारको माग हुँदा अहिले मूल्य बढेको संघका प्रतिनिधि बताउँछन्।

अण्डाको भाउ अझै बढ्ने अनुमान गरिएको छ। यसअघि लागत मूल्य पाउन नसकेका अण्डा उत्पादक किसानले राहत महसुस गरेका अध्यक्ष विनोद पोखरेल बताउँछन्।

नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रति पेटी (सात क्रेट) ३ हजार १४० रुपैयाँ, ठूलो अण्डा ३ हजार रुपैयाँ र मिडियम २ हजार ६५० रुपैयाँ पर्छ। मूल्य चर्किँदा ठूलो अण्डा प्रति पेटी ३ हजार ६७५ रुपैयाँ सम्म पुगेको थियो। किसानको लागत मूल्य प्रति गोटा १६.५६ रूपैँया पर्न जाने संघले जनाएको छ।

अण्डाको उत्पादन

मुख्यत: अण्डाको लागि लेयर्स कुखुरा पालन गरिन्छ। नेपालमा विशेषगरी खैरो अण्डा उत्पादन गर्ने हाइलाइन, लाह्म्यान, एचएचएन, हासेक्स, नोभोजेन आदि जातका कुखुराहरु पालन गर्दै आइएको छ।

लागत मूल्यसमेत नपाएपछि धेरै किसान विस्थापित हुनुपरेको कुखुरा पालक किसानका प्रतिनिधिहरु बताउँछन्। लागतभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन्। धेरै किसान विस्थापित हुँदा फार्महरू खाली भएको अध्यक्ष पोखरेलले बताए।

नेपालमा दैनिक ३० लाख अण्डा उत्पादन हुने गरेकोमा हाल २२ लाख गोटाको हाराहारीमा उत्पादन हुने गरेको छ। ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुने बताइएको छ। थाहा खबर

Facebook Comments Box