एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने
नेपालगन्ज– यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारी तिव्र पारिएको छ । महाधिवेशनको प्रचारप्रसारलाई व्यापक बनाउँदै संगठनले बाँकेका विभिन्न स्थानीय तहमा अन्तरक्रिया, छलफल तथा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मुस्लिम समुदायका चासोका विषयलाई उठाउँदै आएको छ ।
बिहीबार खजुरा गाउँपालिकामा आयोजित प्रचार कार्यक्रमका क्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मुस्लिम फाँटका इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनलाई बाँकेको विकास, अधिकार र पछाडि पारिएका वर्गको मुद्दा उठाउने अवसरको रूपमा लिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू महाधिवेशन उद्घाटनका लागि आउनुहुनेछ, त्यस अवसरमा बाँकेको समग्र विकास तथा मुस्लिम समुदायका समस्या बारे ज्ञापनपत्र बुझाइनेछ,” हारुनले बताए ।
कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरूले छुट्टै मुस्लिम विश्वविद्यालय स्थापनाका लागि पहल गर्नुपर्ने सुझाव दिए । मौलाना मुस्लिम खान बरकातीले धार्मिक शिक्षामा प्रमाणिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै भारतको जस्तै मान्यता दिने व्यवस्था गर्न माग गरे ।
महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खानले महाधिवेशनलाई बाँकेको आवाज केन्द्रसम्म पुर्याउने अवसरको रूपमा लिइनुपर्ने बताए । उनले सबै वडामा प्रचार गरिने र महाधिवेशनका दिन हजारौंको सहभागितामा र्याली निकालिने जानकारी दिए ।
त्यसैगरी, जानकी गाउँपालिकाको वडा नं. ४ मा आयोजित कार्यक्रममा अध्यक्ष द्रोण थापाले इत्तेहादको महाधिवेशनलाई पछाडि पारिएका वर्गको आवाज बुलन्द गर्ने थलोको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
बुधबार कोहलपुरमा आयोजित भेलामा एमाले कोहलपुर अध्यक्ष कुल बहादुर भट्टराईले महाधिवेशन सबै बाँकेबासीको साझा जिम्मेवारी भएको बताए । नरैनापुरमा आयोजित अर्को कार्यक्रममा सहभागीहरूले स्थानीय पूर्वाधार, शिक्षा र स्वास्थ्यको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य खलिल मियाँ, अकरम अन्सारी, सगीर खान, जमील हल्वाई, इब्राहीम शेखलगायतको सक्रिय उपस्थितिमा महाधिवेशनको तयारी कार्यक्रमहरू सञ्चालन भैरहेका छन् ।
बाँकेको नरैनापुरदेखि खजुरा र कोहलपुरसम्मका मुस्लिम अगुवाहरूले महाधिवेशनलाई सफल पार्न सबैले मिलेर लाग्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनलाई संगठन विस्तारको मात्रै नभई मुस्लिम समुदायका मुद्दा उठाउने ऐतिहासिक अवसरको रूपमा हेरिएको छ ।
