नयाँ वर्षको पहिलो दिन बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
बागलुङ ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । सोमबार बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गर्ने र कालिका भगवती मन्दिरको दर्शन गर्ने भक्तजनहरुको भीड लागेको हो ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको कालिका भगवती मन्दिरको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ नयाँ वर्षको दिन देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि भएपछि व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन् । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ । वैखरी
