अन्नपूर्ण आरोहण शुरु, एकै दिन ३२ जना आरोही चुचुरोमा
बेनी : अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण शुरु भएको पहिलो दिन सोमवार ३२ जना आरोहीले चुचुरोमा टेकेका छन्। विहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट ९ जना, पायनियर एडभेन्चरबाट ८ जना, आठके एक्सपिडेसनबाट ९ जना, इमाइजिन नेपालबाट ३ जना र मकालु एभेन्चरबाट २ जनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए।
अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए। आरोहण टोलीका २ जना शेर्पा हिउँ पहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधारशिविर फर्किएका छन्।
क्याम्प २ र ३ को बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ।
आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन्।
“सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरेँ, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ।”
वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्। गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए।
४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधारशिविरमा आरोही, शेर्पा, पथ प्रदर्शक, मजदुर र पर्यटकहरुले भरिएको छ।
अहिलेसम्म ५२० जनाले अन्नपूर्णको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए।
प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधारशिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पैदलयात्राबाट आधारशिविर पुग्न सकिन्छ।
पदमार्गमा रहेको फुतफते झरना, आधारशिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। थाहा खबर
