राजमार्गमा अवैध ढाट हटाउन कसकाे आंट
कपिलवस्तु, २६ चैत ।
कपिलवस्तुका राजमार्गमा राखिएका अवैध ढाटहरु हटाउन सरकारले गरेको निर्देशन कपिलवस्तु प्रशासन कार्यालयले अटेरी गरेको छ । नगर निकासी कर उठाउने बहानामा राजमार्ग कब्जा गरेर बलजफ्ती रकम उठाउन राखिएका ढाँट हटाउन गृह मन्त्रालयले पटक पटक जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर निर्देशन गरेता पनि कपिलवस्तुमा कुनै सुनुवाई भएको छैन । बाणगंगा नगरपालिकाबाट चालु आ.ब.का लागि नदीजन्य पर्दाथको नगर निकासी कर संंकलनको ठेक्का पाएको विसाल दुर्गा सप्लायर्सले नगरपालिकाका २ स्थानमा पूर्व पश्चिम राजमार्गमै अवैध ढाँट राखेर रकम संकलन गर्दै आएको छ । नगरपालिकाले ६८ लाखमा एक तह प्रशोधन गरिएका नदीजन्य पर्दाथ निकासीमा मात्र कर उठाउन ठेकेदालाई अनुमती दिएपनि पश्चिमका बाह्य जिल्लाबाट आउने मालवाहक साधन, भन्सार भई आउने भारतीय सवारी साधन, कृषिजन्य मालवाहक ट्रक तथा विना प्रशोधन गरिएका नदीजन्य पर्दाथ निकासीमा समेत जर्बजस्ती कर उठाउदै आएको छ ।
राजमार्गहरुमा अवैध ढाँटले सास्ती पाएको भन्दै यातायात व्यवसायीले आन्दोलन गरेपछि २०७५/८/१७ गतेको मन्त्रीपरिषदको निर्णयबाट राजमार्ग तथा सहायक राजमार्गमा राखिएका अवैध ढाँट हटाउने निर्णय गरेर कार्यान्वयनमा ल्याएको थियो । तर कपिलवस्तुको बाणगंगा लगायत केहि स्थानीय सरकारले कर उठान अवैध ढाँट राखेको उजुरी परेपछि गृह मन्त्रालयले पुन २०८१÷७÷१२ गते जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार गरेको थियो । तर कपिलवस्तु प्रशासन तथा सुरक्षा निकायलाई प्रभावित बनाएको उक्त नगर निकासी ठेकेदार सन्तोष मरासिनीले खुल्लम खुल्ला राजमार्ग किनारमा ढाट राखेरै अवैध कर संकलन गर्दै आइरहेको छ । श्रोतका अनुसार निकासी करको भ्याट छलि गर्नका लागि ठेकेदारले नक्कली निकासी बिल समेत प्रयोग गरिरहेको बताइन्छ ।
सो सम्बन्धमा बाणगंगा नगरपालिका राजस्व प्रमुख मदन घिमिरेले भने विशाल दुर्गा सप्लायर्सले नदीजन्य मात्र नभई कबाडी, तथा बनजन्य र पशुजन्य निकासी कर समेत लिएको बताए । ठेक्का सम्झौतामा ढाट राख्ने विषयवस्तु उल्लेख नभएको समेत उनले बताए । विशाल दुर्गा सप्लायर्सले पशुजन्य र बनजन्य ठेक्का २२ लाखमा र ६ लाखमा कबाडी ठेक्का समेत लिएको छ । ढाँट हटाउन पटक पटक अनुरोध गर्दा समेत वेवास्ता गरेको यातायात व्यवसायीहरुको गुनासो छ । हालै मात्र आएका सिडियो दिल कुमार तामाङ्गले भने ढाट हटाउने आँट छ छैन त्यो हेर्नै बाँकी रहेको उनीहरुको भनाई छ । ढाँटकै कारण राजमार्गको मुख्य सडकमै ट्रकहरुको लाइन लाग्ने र राजमार्ग समेत पटक पटक अवरुद्ध हुुदै आएको छ ।
