बदलिएको चैते दशैँघट्दै रौनक बढ्दै तडकभडक

सेयर गर्नुहोस

नवीन लुइँटेल

काठमाडौँ : ​चैतै दशैँ मनाउने तरिका र यसको रौनकमा कमी आएको धेरैले महसुस गरेका छन्।

अहिले यसप्रति मानिसको मोह घटेको छ। गोदावरी नगरपालिका-१० की अञ्जना पौडेल भण्डारीले भनिन्‚ ‘चैते दशैँ आउनु एक दुई दिन अघिदेखि नै उमङ्ग आउँथ्यो।’ शनिबार माइत जान लगनखेलमा गाडी कुरिरहेकी उनलाई पहिले जस्तो माइत, मामाघर तथा आफन्तकोमा जानेको भीड र रौनक नभएको महसुस भयो। पहिले चाडवाडको अलि धेरै महत्त्व थियो। घरगाउँ र समाजमा चैते दशैँलाई प्राथमिकता दिइन्थ्यो।

गोदावरी नगरपालिका बडिखेलकी रेखा नेपालले भनिन्‚ ‘अहिले मानिस व्यस्त भएका छन्। सामाजिक क्रियाकलापमा उनीहरूको चासो कम छ।’ उनका अनुसार यो पर्वको रौनक घट्दै गएको छ।

उनले सरकारले सार्वजनिक बिदा दिन छोडेको हुनाले पनि चाड मनाउने रौनकमा कमी आएको बताइन्। महाँकाल गाउँपालिकाका लछुमन दुलालले चैते दशैँ भन्नेबित्तिकै अर्को दशैँकै झझल्को आउँथ्यो। बेग्लै उमङ्ग हुन्थ्यो।

उनले भने, ‘हामी मामाघर जान्थ्यौँ, गाउँघरमा खसी काट्थे, टीकाटालो हुन्थ्यो। चैते दशैँका दिन बिहानै विभिन्न देवी भगवतीका मन्दिरमा पूजाआजा गर्न जान्थ्यौँ।’

ललितपुर महानगरपालिकाका सुरेश थापा मगरले चैते दशैँमा बिदा नभएकाले यसको रौनक घटेको बताए।

संस्कृतिविद् डाक्टर वीणा पौडेलले पनि चैते दशैँप्रतिको उत्साह घटेको बताइन्। उनले सरकारले चैते दशैंमा सार्वजनिक बिदा नदिनुमा बुझाइको कमी भएको गुनासो गरिन्। चैत शुक्ल अष्टमीमा भवानी दुर्गाको उत्पत्ति भएको र नवमीमा रामको कथासँगै अवतारवादको सन्दर्भसहित चैते दशैँ मनाइने गरेको उनले स्पष्ट पारिन्।

घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, चण्डी , कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ। चैते दशैँलाई महत्त्व दिने व्यक्तिले भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन्। वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ। शक्तिस्वरूपा भगवतीको आराधनाको महत्त्व सप्तशती चण्डी, देवीभागवत, कालिका पुराण आदिमा उल्लेख छ।​

चैते दशैँका दिन शनिबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरू गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, नक्साल भगवती, बज्रयोगिनी, कालिकास्थान, सङ्कटा, मैतीदेवी, नरदेवी, विजेश्वरी, बज्रवाराही लगायतका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको संख्या बढेको थियो। चैते दशैँलाई महत्त्व दिनेहरूले भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन्। चैते दशैँका दिन सप्तशती, चण्डी, दुर्गा कवच पाठ गरिन्छ।

Facebook Comments Box