बालेनविरूद्ध सुनिताले खोलेको ‘फायर’ !

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरूद्ध पछिल्लो समय उपप्रमुख सुनिता डंगोल आक्रामक बन्दै गएकी छिन्। हिजो(बिहिबार) वडाअध्यक्ष र कर्मचारीहरूले ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा छिराएपछि उनले बालेनविरूद्ध चर्को आलोचना गरिन्।

उनले आक्रोशित हुँदै भनिन्,‘फेरी त्यो भिडन्त बनाउनेकी नबनाउने?,भिडन्त नगर्ने भए व्यवस्थापन त गर्नुपर्‍याे,यसको व्यवस्थापनको लागि उपप्रमुखको हिसाबले निर्देशन दिइसके,मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन मात्र पाइँदैन।’

गुरागाईँलाई रोक्न खोजेपछि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि पनि उनी खनिइन्। उनले पाण्डेलाई भनिन्,‘लिखित आदेश छ की छैन?,तपाईँले प्रमुखसँग जति अकाउन्टेबल हुनुहुन्छ,त्यति उपप्रमुखसँग पनि हुनुपर्छ।’

२०७९ जेठ १२ गते स्थानीय तह निर्वाचनबाट महानगरपालिकाको महानगर प्रमुखमा उनी बालेन शाह निर्वाचित भएका हुन्। उनी स्वतन्त्र उम्मेदवार हुन्। उक्त स्थानीय तह निर्वाचनमा उपप्रमुखमा नेकपा एमालेबाट डंगोल निर्वाचित भइन्। उनीहरू निर्वाचित भएपछि विभिन्न काम गरे। उपप्रमुख सुनिता डंगोल लगायत केही जनप्रतिनिधिहरूले बालेनलाई साथ दिए।

अधिकांशले पार्टीका उपप्रमुख भए पनि स्वतन्त्रलाई साथ दिएको भनी प्रशंसा गर्ने गरेका थिए। तर,प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको विवादपछि भने प्रमुख शाह र उपप्रमुख डंगोलको दुरी बढेको छ। डंगोलले यसअघि पनि गुरागाईँमाथि भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन्।

उनले भनेकी थिइन्,‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,सबभन्दा पहिला समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ,प्रतिवेदन पनि सार्वजनिक नगर्ने अनि केन्द्रले प्रमुख प्रशासकीय अधिकृत पठाएन भनेर विरोध गर्ने कुरा हुँदैन,त्यो राम्रो होइन।’

किन गुरागाईँमाथि लाग्यो आरोप ?

सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पद बहाली गरेका थिए। तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता उनी निलम्बनमा परेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईँलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले ठाडै अस्वीकार गरे।

गुरागाईँले त्रूटिपूर्ण कार्य गरेको दाबीसहित महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा परियोजनालगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानूनी झञ्झट पर्ने बालेनले जानकारी दियो। उनी माथिको छानबिन प्रतिवेदन पनि महानगरका प्रमुख शाहले सार्वजनिक गरिसकेका छन्।

प्रमुख प्रशासकीय अधिकृत गरागाइँले भने नक्सा स्वीकृत गरेको स्वीकार गरिसकेका छन्। उनले केही समयअघि थाहाखबरसँग भनेका थिए,‘आफ्नो अधिकार प्रयोग गरेर नक्सा पास गरेको हु,मैले गल्ती गरेको छैन।’ यी नै विवाद कारण बालेन र संघीय सरकारबीच पनि यतिखेर टकराव चलिरहेको छ।

चैत १८ गते सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि सामाजिक सञ्जालबाट उनले लेखेका थिए,‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले,को को ले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु, त्यो पछि हेरौँला तिमीहरूको के-के तन्त्र हो।’

गुरागाईँले आजदेखि थाले सेवा

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आजदेखि प्रशासनिक सेवा थालेका छन्। हिजो नै बैठक बसेर यसका लागि निर्णय भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

उनले भने,‘अबदेखि उहाँ कार्यालय आउनेमा सहज हुने छ,लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब पनि भुक्तानी हुने छ।’ हिजो बसेको उक्त बैठकमा प्रमुख शाह भने उपस्थित भएनन्।

महानगरपालिकाका उपप्रमुख डंगोलसहित वडाध्यक्ष,कर्मचारी कार्यालय नै फोडेर गुरागाईँलाई छिराएपछि अब महानगरपालिकाका प्रमुख शाह के गर्छन् भन्ने आम चासो बनेको छ। यस विषयमा हालसम्म बालेन बोलेका छैनन्। यस विषयमा बुझ्न महानगरपालिका प्रमुख शाहको स्वकीय सचिव भुपदेव शाहलाई पटक-पटक सम्पर्क गर्दा फोन उठाएनन्। थाहा खबर

Facebook Comments Box