रौतहटमा खयरका रूख काटेर सिध्याइँदै, सम्बन्धित निकाय मौन

सेयर गर्नुहोस

रुपेन्द्र पटेल

रौतहट : रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा अवैध रूपमा बहुमूल्य खयर जातका रुखहरु मासिने क्रम तीव्र बनेको छ। खेतीयोग्य जमिन बनाउन संगठित रूपले भइरहेको यो विनाश रोकिनुपर्ने माग स्थानीयहरुले गरेका छन्। तर, सम्बन्धित निकाय मूकदर्शक बनेको आरोप लागेको छ।

वृन्दावन सब डिभिजन वन कार्यालयको क्षेत्रमा खयरका रूखहरू धमाधम फँडानी भइरहेका छन्। डिभिजन वन कार्यालय, रौतहटको लापरबाहीका कारण बागमती नदीले वन क्षेत्र अधिग्रहण गरेको भूभाग खेतीयोग्य जमिनमा परिणत गर्ने कार्य बढ्दो छ। सो क्षेत्रमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायतका जिल्लाबाट आएका व्यक्तिहरूले हजारौँ हेक्टर बगर क्षेत्र कब्जा गरी खेतीमा परिवर्तन गरिसकेका छन्।

स्थानीय बासिन्दा राम गणेश पटेलका अनुसार दैनिक रूपमा १० ट्रयाक्टरभन्दा बढी बगर क्षेत्रमा सञ्चालन भइरहेका छन्।

उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि कुनै कारबाही नभएको गुनासो गरेका छन्। पटेलले वन कर्मचारीकै मिलेमतोमा खयरका रूखहरु मास्ने कार्य भइरहेको आरोपसमेत लगाएका छन्।

खेत बनाउने नाममा कटान गरिएका हजारौँ खयरका रूखहरू बगरबाटै गायव हुने गरेका छन्। तर, वन कार्यालयले हालसम्म खयरको एउटा सिन्कासमेत बरामद गर्न सकेको छैन।

स्थानीय सुरेश पटेलका अनुसार बगर फँडानी गर्नेहरुले सुरुमा तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि खयरका रूखहरू फाँडेर खेतीयोग्य जमिन बनाउने गरेका छन्। प्रत्येक वर्ष १०० बिघाभन्दा बढी क्षेत्रफल खेतीयोग्य बनाउने क्रम जारी रहेको बताइएको छ।

यता, डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साहले भने वन कर्मचारीको संलग्नता नरहेको दाबी गरेका छन्। उनले वन कार्यालय एक्लैले बगर संरक्षण गर्न नसक्ने भन्दै स्थानीय तहको सहयोग आवश्यक रहेको बताएका छन्। साथै, यसबारे छलफल भइसकेको र आवश्यक कदम चालिने उनले जानकारी दिए।

खयर कटानको वृद्धिले वातावरणीय असन्तुलन निम्त्याउने भन्दै स्थानीयहरुले अवैध रूपमा खयर कटान गरी खेतीयोग्य जमिन बनाउनेहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। थाहा खबर

Facebook Comments Box