अनेरास्ववियुले लगायो जनप्रशासन क्याम्पसमा ताला
काठमाडौँ : अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले जनप्रशासन क्याम्पसमा तालाबन्दी गरेको छ। कमिटीले आफूसँग रहेको बहुमतको अनादर गरेको भनी क्याम्पस प्रमुख र निर्वाचन कमिटीको कार्यकक्षमा तालाबन्दी गरेको हो।
स्ववियु निर्वाचन कमिटीले मनपरी ढंगले नियमविपरीत स्ववियु उपाध्यक्ष र सहायक सचिव पद रिक्त राखी स्ववियु कार्यसमितिलाई शपथ ग्रहण गराउन खोजेपछि तालाबन्दी गर्न बाध्य भएको कमिटीका अध्यक्ष शंकर दुबेले जानकारी दिए।
उनका अनुसार चैत ५ को निर्वाचनपश्चात् अनेरास्ववियुले बहुमत प्राप्त गरेको थियो। कार्यसमितिले चैत १५ गते समानुपातिकतर्फका सदस्य निर्वाचित भएको सूचना प्रकाशित गरेपछि अनेरास्ववियुले आफूसँग रहेका ११ सदस्यको बहुमतको हस्ताक्षरसहित चैत १७ गते निर्वाचन कमिटीलाई स्ववियु उपाध्यक्ष र सहायक सचिव टुंग्याउन लिखित रूपमा निवेदन दिइएको र पटक पटक निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो।
‘आग्रह गर्दा पनि निर्वाचन कमिटीले नसुनेर विद्यार्थीको मतलाई अवहेलना गरी पेलेर अगाडि बढ्न खोजे पछि तालाबन्दी गर्न बाध्य भएका हौँ’, उनले भने।
क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले यसअघि चैत ५ गते राति मतगणना स्थलमा अनधिकृत रूपमा राज्यकोषबाट तलब भत्ता खाने आयल निगमका कर्मचारी वीरेन्द्र चन्दलाई प्रवेश गराएर मतगणना अस्वस्थ गराएको उनको आरोप छ।
‘स्ववियु निर्वाचन आचारसंहिता उल्लंघन गरेको थियो, क्याम्पस प्रमुख हरिभक्त शाही आफैंले र आफ्ना शिक्षक कर्मचारीलाई अनेरास्ववियुका विरुद्धमा मतदान गर्न विद्यार्थीलाई फोन म्यासेजसम्म गरिरहेको तथ्य सार्वजनिक भएको छ, यद्यपि क्याम्पस प्रशासन, शिक्षक कर्मचारी, निर्वाचन कमिटी लगायत सारा शक्तिलाई अनेरास्ववियुविरुद्ध प्रयोग गर्दा पनि हाम्रो बहुमत देखेर हामीप्रति विद्यार्थीहरूले गरेको माया विश्वास देखेर हच्किएका, तर्सिएका शाहीहरू निर्वाचन प्रक्रियाबाट भाग्न खोजिरहेका छन्’‚ उनले भने।
अनेरास्ववियुले स्ववियु निर्वाचन कमिटीले २१ सदस्यीय नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बोलाई स्ववियु उपाध्यक्ष र सहायक सचिवको निर्वाचन गराउन र शपथ ग्रहण गरी प्रमाणपत्र वितरण गर्नुपर्ने माग गरेको छ। थाहा खबर
