भारतले नेपालका ९ वटा स्थानीय तहमा स्कूल र अस्पताल बनाइदिने सम्झौता

सेयर गर्नुहोस

काठमाडौँ : नेपाल सरकार, भारतीय दूतावास र विभिन्न ९ स्थानीय तहबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

मंगलवार सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र ९ स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतानुसार भारत सरकारले ९ वटा स्थानीय तहमा विद्यालयका संरचना तथा स्वास्थ्यचौकी बनाउन आर्थिक सहायता प्रदान गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार सम्झौता भएका स्थानीय तहमा धनगढी उपमहानगर (कैलाली), धुर्कोट गाउँपालिका (गुल्मी), चंखेली गाउँपालिका (हुम्ला), बुटवल उपमहानगर (रूपन्देही), इन्द्रावती गाउँपालिका (सिन्धुपाल्चोक), जयपृथ्वी नगरपालिका (बझाङ), मिखुवाखोला गाउँपालिका (ताप्लेजुङ), भरतपुर महानगर (चितवन), लिखुपिके गाउँपालिका (सोलुखुम्बु) रहेका छन्। उनले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहने बताए।

सहसचिव पराजुलीले भने‚ ‘भारत र नेपालबीच ९ वटा जिल्लाका ९ वटा पालिकामा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता भएको छ। विभिन्न १३ वटा परियोजनामा यो आर्थिक वर्षमा सम्झौता भइसकेको छ। दूतावासले स्वीकृत गरिसकेपछि परियोजनाहरू लागू हुन्छन्।’ थाहा खबर

Facebook Comments Box